वाग्मतीमा ढल्यो एमालेको सरकार, समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बन्दै

पत्रपत्रिकाबाट

विहीबार, ११ कार्तिक २०७८, ०७ : ३९
वाग्मतीमा ढल्यो एमालेको सरकार, समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बन्दै

काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बन्ने पक्का भएको छ। विपक्षी गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुधबार साँझ संयुक्त पत्र बुझाएका छन्।

पाण्डेसँगै नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायत सांसदहरु मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका थिए। माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरिएको छ।

हाल १ सय ९ सांसद रहेको प्रदेशमा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनबिच एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल मुख्यमन्त्री लिने सहमति भएअनुसार पाण्डेपछि कांग्रेसका बानियाँ मुख्यमन्त्री बन्नेछन्।विश्वासको मत विभाजनका लागि बुधबार डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्तव्य राख्दै राजीनामा दिएर मार्ग प्रशस्त गरेको घोषणा गरेकी थिइन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम नियुक्त भएकी मुख्यमन्त्री शाक्यले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबारै प्रदेश प्रमुख समक्ष लिखित राजिनामा पनि बुझाएकी थिइन्।

त्यसलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनका लागि दावी पेश गर्न बिहीबार ३ बजेसम्मको समय दिएको थियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस