प्रशिक्षक अलमुताइरी थप तीन वर्ष नेपालमै रहने

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १६ : २६
प्रशिक्षक अलमुताइरी थप तीन वर्ष नेपालमै रहने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप ३ वर्षको सम्झौता नवीकरण गरेका हुन् । एन्फाको अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको छलफलपछि आफूले सम्झौता नवीकरण गर्न सहमत भएको प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’ उनले लेखेका छन् । 

एन्फासँग मुख्य प्रशिक्षकको सम्झौता ५ कात्तिकमा सकिए पनि ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिमको नेतृत्व सम्हाल्न तयार भएका हुन् ।

यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ बर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । सोहीअनुसार नेपाल भारतसँग पराजित भएर उपविजेता भई स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए ।

प्रतिक्रिया दिनुहोस