न्यायपालिका विवादले सर्वोच्चको इजलास प्रभावित

पत्रपत्रिकाबाट

मंगलबार, ०९ कार्तिक २०७८, ०७ : २१
न्यायपालिका विवादले सर्वोच्चको इजलास प्रभावित

काठमाडौं । सर्वोच्च अदालतमा सोमबार बोलाइएको फुलकोर्ट बैठक बस्न नसक्दा न्यायपालिकाको विवाद झनै गम्भीर बनेको छ। सर्वोच्चमा रहेका प्रधानन्यायाधीशसहित २० जना न्यायाधीशमध्ये १४ जनाले आइतबार नै बैठकमा सहभागी नहुने निर्णय गरेका थिए।

उनीहरू सहभागी नभएपछि फुलकोर्ट बैठक बस्न सकेन भने यसकै कारण इजलास पनि प्रभावित भए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। ती इजलासका लागि २ सय १६ वटा मुद्दामा पेसी तोकिएको थियो। तर कुनै पनि इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ प्रभावित भयो। प्रधानन्यायाधीशले आफूलाई भने कुनै पनि इजलास तोकेका थिएनन्।

सर्वोच्चमा उपलब्ध न्यायाधीशहरू छलफलमा बसेकाले इजलास प्रभावित भएका हुन्। सर्वोच्च अदालतमा सोमबार उपलब्ध १३ जना न्यायाधीश छुट्टै बैठक बसेका थिए। उनीहरूले न्यायपालिकामा देखिएको विवाद समाधानका लागि मार्ग प्रशस्त गर्न मंगलबार प्रधानन्यायाधीशलाई भेटेर अनुरोध गर्ने भएका छन्।

सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीले फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति आइतबार गरेका थिए। सुवेदी बिसन्चो भएर सोमबार अनुपस्थित भएपछि बाँकी १३ जनाको बैठक बसेको थियो।

आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीले पनि प्रधानन्यायाधीशलाई भेटेर समस्याको निकास खोज्न आग्रह गरेका थिए। उनीहरूकै आग्रहमा प्रधानन्यायाधीश जबराले फुलकोर्ट बैठक बोलाएका थिए। उनले बैठकमा सहभागी हुन बार एसोसिएसनबाट समेत प्रतिनिधि बोलाएका थिए।

यसैबीच बार एसोसिएसनको सोमबार बसेको बैठकमा अधिकांश पदाधिकारीले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने धारणा राखेका छन्। बैठकमा सबैको सुझाव लिइएको र लगभग सबैजसोले मार्ग प्रशस्त गरिदिन आग्रह गर्नुपर्ने सुझाव दिएको स्रोतले बतायो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस