चितवनमा बाघ संरक्षणमा चुनौती

प्रकाश सिग्देल

सोमबार, ०८ कार्तिक २०७८, १६ : २७
चितवनमा बाघ संरक्षणमा चुनौती

चितवन । देशका राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी भईरहदा निकुञ्जका बाघ संरक्षणमा चुनौती थपिदै गएको संरक्षण कर्मीहरुले बताएका छन् । बाघको घनत्व बढ्दै गएको र आहारा प्रजातिका जनावरको कमी हुन थालेपछि  निकुञ्जका बाघ संरक्षणमा चुनौती समेत थपिदै गएको छ ।

निकुञ्जमा बाघको संख्या बढेसंगै बाघ संरक्षणमा पनि उतिनै चुनौती थपिदै गएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए । आहारा प्रजातिको कमि, घाँसे मैदानको अभाव, सिमसार क्षेत्रको नास, मानव र बन्य जन्तु बिचको द्वन्द्वका कारण बाघ संरक्षणमा चुनौति देखिएको उनी बताउछन् ।

सरकारले सन २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य सहित काम गरेको छ  । बाघको संख्या पनि झण्डै दोब्बर पुगेको बताउँदै उनले सिमित क्षेत्रमा रहेका बाघको घनत्व बढ्दै जादा बाघका लागि क्षेत्र नपुगेर गाउँ छिर्ने र आक्रमण गर्ने क्रम बढ्ने गरेको उनी बताउँछन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक पाँच वर्षको अन्तरमा गणना गरिन्छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरुका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । क्याप्चर्ड रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्ज सबै भन्दा बढि बाघ पाईने निकुन्ज हो ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ ।

सन २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

सन २०१० मा रसियाको सेन्ट पिटर्सबगमा भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो ।

प्रतिक्रिया दिनुहोस