जसलाई घर बनाउने काम दिँदै थिए उसैबाट हत्या !

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १९ : ३७
जसलाई घर बनाउने काम दिँदै थिए उसैबाट हत्या !

काठमाडौं । घट्ना गत असोज १९ गते रातिको हो । त्यसको भोलिपल्ट असोज २० गते बिहान मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको घर अगाडिको आँगनमा दुवै खुट्टाको औंला मात्र देखिने गरी बालुवाले पुरेको अवस्थामा शव रहेको जानकारी टेलिफोनमार्फत स्थानीयले प्रहरीलाई गराए। सूचना पाएलगत्तै सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो । घट्नास्थल पुगेको प्रहरी टोलीले आँगनको बालुवा हटाएर हेर्दा घरधनी ६३ वर्षीय मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका दाहालको शव भएको पुष्टि भयो । 

घट्नस्थल वरपर रहेका छरछिमेकसँग घटनाको बारेमा बुझ्दा घटना हुनुभन्दा तीन दिन अघि मृतकको घरमा दुई जना अपरिचित व्यक्तिहरु आउने जाने गर्ने गरेको खुल्न आएको प्रहरीले पत्ता लगायो । मृतक दाहालले प्रयोग गर्ने मोबाइल सेट समेत फेला परेको थिएन । तर दाहालको मोबाइल भने चालु अवस्थामा नै पाइएको थियो ।

सोही मोबाइलको आधारमा प्रहरीले मेलम्ची नगरपालिका–११ स्थित हेलम्बु बसपार्कबाट काभ्रेको खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगरलाई नियन्त्रणमा लियो । मगरको साथबाट दाहालको मोवाइल सेट बरामद भएको उनले बताए । मगरले दिएको बयानका आधारमा काठमाडौंको गोकणेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई  नियन्त्रणमा लिइयो । 

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मृतक दाहाल पुरानो घर भत्काएर नयाँ घर बनाउने तयारीमा थिए । सो कुरा मगर र तामाङले थाहा पाए । दाहालको घर बनाउन दुवै पक्षबीच मौखिक सहमति भएको थियो । असोज २० गतेदेखि नयाँ घर बनाउन शुरु गर्ने शर्तमा दाहालले मगर र तामाङलाई ४० हजार रुपैयाँ पेश्की दिने मौखिक सहमति भएको थियो ।

घर बनाउन दाहालले ४० हजार पेश्की दिने सहमति जनाएका कारण उनीसँग नगद रकम रहेको आशंकामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । दाहालसँग भएको नगद रकम लुट्ने योजना अनुसार असोज १९ गते राति नै मगरले कोदालोले टाउकोमा प्रहार गरी दाहालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हत्यापछि दुवै जनाले उनकै घर अगाडि खाल्डोखनी शव गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । रातिको समयमा शव गाडेका कारण खुट्टाको औंला राम्रोसँग नपुरिँदा घटना बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस