बाढीपीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १० : १९
बाढीपीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

कैलाली । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् । जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन ।

हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो । बाढीमा घर गुमाएका चौधरीको घरमा रहेका अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो । जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् ।

विद्यालयमा बसिरहेका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिनुहुन्छ । “घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो”, उनी भन्छन्, “छ दिन भयो विद्यालयमा बसेको । यसरी बसेर कति दिन टर्छ । घर बचेकाहरु घर सफा गर्न थालेका छन् । स्थानीय सरकारले राहत दिने भनेको छ । घर भएकाहरु त फर्केलान्, हामी कहाँ जाउला रु”

चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ । उनी पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा हुन् । “आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन”, सुस्मिताले भने, “दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ । गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौँला ?” 

बाढीले बस्तीमा १८ परिवारका घर रहेनन् । ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन् । यसरी विद्यालयमा बसेका सयौँ नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन् । जिल्लामा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् । 

टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च स्थानमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन् । पालिका र सङ्घसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन् । टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन् । टीकापुरको तटीय क्षेत्र वडा नं ८ मा बाढीले बढी क्षति पु¥याएको छ । वडा नं ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताए । “हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौँ”, उनले भने, “बाढीले ठूलो क्षति पु¥याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ ।”

सङ्घसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेका छन् । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्याङ्क सङ्कलन र क्षतिको विवरण सङ्कलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताए । “सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौँ”, उनले भने, “हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौँ । क्षति हेरेर सहयोग हुनेछ ।”

प्रतिक्रिया दिनुहोस