पूर्वप्रधानमन्त्री ओलीलाइ भेट्न एनआरएनएको टोली पुग्यो बालकोट

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १२ : ५१
पूर्वप्रधानमन्त्री ओलीलाइ भेट्न एनआरएनएको टोली पुग्यो बालकोट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको छ । एनआरएनएभित्र विवाद चर्किँदै गएको तथा महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयबाट विभिन्न अड्चन खडा भएका बेला पन्तसहितको टोलीले ओलीलाई बालकोट पुगेर ओलीलाई भेटेको हो ।  

भेटका क्रममा पन्तसहितको टोलीले काँग्रेस निकट उम्मेदवार कुल आचार्यको पक्षमा चुनावी नतिजा पार्न काँग्रेस र माओवादी केन्द्र लागेको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले व्यवधान खडा गरेको ओलीसमक्ष गुनासो गरेका थिए । पन्तले एमालेनिकट उम्मेदवार बद्री केसीलाई हराउन सत्तारुढ गठबन्धन र सरकार नै लागिपरेको सुनाएका थिए ।

पन्तले हालका उपाध्यक्षसमेत रहेका डा. बद्री केसी नेतृत्वको दौडमा रहेको  र उनी एमाले निकट भएकै कारण विपक्षीबाट समस्या खडा गर्ने काम भएको ओलीलाई बताएका थिए ।

एमालेको पक्षमा विश्वभरका एनआरएनएहरुको आकर्षण रहेको, तर अध्यक्षका अर्का उम्मेदवार कूल आचार्य पक्षले अनावश्यक राजनीति गरिरहेको पनि पन्तको गुनासो थियो । आचार्यकै योजनामा एनआरएनएका केही अभियन्ताले विवाद झिकेर परराष्ट्र मन्त्रालयमा उजुरी गरेको र सोही उजुरीको बलमा परराष्ट्रले निर्वाचन प्रक्रिया अघि बढाउन रोक लगाएको पनि पन्तले ओलीलाई बताएका थिए ।

परराष्ट्रले विवाद निरुपण नभई निर्वाचन नगर्न निर्देशन दिएपछि पन्तको कार्यकाल ६ महिना थप गर्ने निर्णय भइसकेको छ भने नोभेम्बर ३० भित्र विश्वसम्मेलन गर्ने निर्णय पनि भइसकेको छ ।

यद्यपि विभिन्न देशबाट प्रतिनिधि चयनको विवाद भएको भनिएको विवाद भने अझै मिलिसकेको छैन । बरु एनआरएनएमा एकपछि अर्को विवाद थपिइरहेको छ । एनआरएनएहरु एउटा समूह सत्ता गठबन्धन र अर्को समूह एमाले निकट भएपछि विवाद मिल्नुको साटो थप दूरी बढ्न थालेको हो ।

भेटका क्रममा ओलीले एनआरएनएमा राजनीतिकरण हुन नहुने भन्दै आफू नेतृत्वमा हुँदा सरकारले गरेका काम कारबाहीबारे लामो प्रवचन सुनाएका थिए । ओलीले अहिलेको नेतृत्वमा एमालेको बाहुल्य रहेको र अब पनि एमाले निकटकै व्यक्तिलाई एनआरएनएमा विजयी गराउने गरी आफूले माहोल बनाउन लागिपर्ने आवश्वनसमेत दिएको स्रोतको दाबी छ ।
 

प्रतिक्रिया दिनुहोस