चीनसँगको सबैखाले उडान रोकिनुको रहस्य

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १६ : ३१
चीनसँगको सबैखाले उडान रोकिनुको रहस्य

काठमाडौँ । सीमाना जोडिएको मित्रराष्ट्र चीनमा रहेका नेपालीहरु महिनौंदेखि उतै अड्केका छन् । त्यसमा सर्वसाधारणदेखि कूटनीतिक क्षेत्रका नेपालीसमेत परेका छन् ।

चीनसँगको सोझो उडान सबै बन्द भएकाले उक्त अवस्था आएको हो । नेपालले अन्तर्राष्ट्रिय उडान खोले पनि चीनले अझै खोलेको छैन । त्यसकारण उता रहेका नेपाली सबै उतै अड्किएका हुन् । कोरोना महामारी अघिसम्म चीनसँग नेपालको दैनिक छ वटा उडान हुन्थ्यो । पहिलो निषेधाज्ञापछि सामान्य ढंगले खुलेको चीनसँगको उडान दोस्रो लकडाउनपछि ठप्प छ । यो अवस्था आएको पनि बर्ष दिन महिना कटिसकेको छ ।

चीनसँगको उडान नखुल्नुमा सरकारसँगको सम्बन्धलाई समेत जोडेर हेर्न थालिएको छ । यता सरकार चलाउँदै गर्दा छिमेकमा परेको र पर्न सक्ने असरबारे कुनै हेक्का नराख्नुको बाछिटाको रुपमा चीनसँगको बन्द उडानलाई लिनेहरु प्रशस्तै भेटिएका छन् । नाम नबताउने शर्तमा एक जना नेपाली कूटनीतिज्ञ भन्छन्, ‘धेरै के भन्नु दुई देशबीचको सम्बन्ध निकै चिसो भएको छ,तर पनि कसैलाई मतलब छैन ।’

“औषधी बोकेर ल्याउन बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको चार्टर उडानबाट दूतावासका सहसचिव सुशील लम्साल अनुनयविनय गरेर काठमाडौं उत्रेका थिए । उता बेइजिङस्थित दूतावास र क्वाङ्चौमा रहेको नेपाली वाणिज्य दूतावासमा पोष्टिङ भएका सहसचिव र उपसचिव पनि काठमाडौंबाट त्यता पुग्न सकेका छैनन् ।”

तर,चिनियाँहरुले चाहिँ नेपालमा कोरोनाको जोखिम उस्तै रहेको रेडिमेड जवाफ दिने गरेको बताइन्छ । भारतलगायतका मुलुकसँग नेपालको हवाई र स्थल आवतजावत भइरहेको र महामारीको जोखिम भित्रिने डरले उडान नखुलाइएको अनौपचारिक स्रोतलाई उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

उक्त स्रोतका अनुसार कोरोना महामारीको कुरो गरे पनि चीनले उडान शुरु नगर्नुको पछाडि यसअघिको ओली सरकार र अहिलेको देउवा सरकारले सम्बन्धलाई सुमधुर बनाउन नसक्नु नै प्रमुख कारण हो भनिएको छ । यसअघि नेकपा विभाजन गर्न नहुने भन्ने चीनको चाहनालाई तत्कालीन प्रधानमन्त्री ओलीले वास्ता नगरेपछि सम्बन्धमा चिसोपना शुरु भएको हो ।

अहिलेको सरकारले पनि चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउनेतर्फ खासै ध्यान नदिएको भन्नेहरु कम्ति छैनन् । हुम्लाको सीमा विवाद उछाल्नुको परिणाम क्रमशः देखा पर्दैछ ।

यसअघि चीनसँगको दैनिक ६ वटा उडानबाट कम्तिमा पनि एक हजार जना ओहोरदोहोर गर्थे । तीमध्ये आधाजसो नेपाली हुन्थे भने आधा चिनियाँ र विदेशी हुन्थे । अघिल्लो निषेधाज्ञाअघि काठमाडौंबाट चीनको क्गाङ्चौ,छन्दु,खुनमिङ, हङकङ,ल्हासा र छोङछिङमा नियमित उडान हुन्थ्यो । कोरोनापछि चीनमा रहेका नेपाली दूतावास र अन्य कूटनीतिक नियोगमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारीहरु समेत लामो समयदेखि अड्किएका छन् ।

यसबीच औषधी बोकेर ल्याउन बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको चार्टर उडानबाट दूतावासका सहसचिव सुशील लम्साल अनुनयविनय गरेर काठमाडौं उत्रेका थिए । उता बेइजिङस्थित दूतावास र क्वाङ्चौमा रहेको नेपाली वाणिज्य दूतावासमा पोष्टिङ भएका सहसचिव र उपसचिव पनि काठमाडौंबाट त्यता पुग्न सकेका छैनन् । चीनभित्रैका नेपालीहरु समेत एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गरेको देखिँदैन । क्वारेण्टिनको कडा नियम भएकाले उनीहरु आफू बसेको शहरमा सीमित भएका हुन् ।

चीनमा राजधानी बेइजिङको राजदूतावासबाहेक ल्हासा र हङकङमा महावाणिज्य दूतावास र छन्दु तथा क्वाङ्चौमा नेपालका वाणिज्यदूतावास छन् । हङकङमा काठमाडौंबाट नेपाल वायुसेवाले उडान भर्खरै शुरु गरेको छ । मुख्यभूमिमा भने अझै उडानको कुनै सुरसार छैन ।

कोरोना महामारीपछि चीनसँग स्थलमार्गको व्यापार पनि सुस्ताएको छ । केरुङ र कोदारी नाका भएर हुने गरेको व्यापारमा विभिन्न उल्झन देखिएका छन् । कलकत्ताबाट आउने सामान भने चीनबाट निर्वाध रुपमा भित्रिएको छ । नेपालमा जाडोयाम शुरु भइसकेको छ तर नाकामा दैनिक १० कण्टेनर मात्रै सामान भित्रिन दिने नियमले नेपालको चीनसँगको व्यापार चौपट भएको नेपाल हिमालय सीमापार व्यापार संघका व्यापारीहरुले बताएका छन् ।

यी सबै घटनाक्रमलाई चीनको असन्तुष्टीको रुपमा लिन थालिएको छ । कोरोना महामारीमा शुरुदेखि नेपाललाई स्वास्थ्य उपकरण,औषधि र पछिल्ला दिनमा करोडभन्दा बढी मात्रा खोप उपलब्ध गराएर चीनले नेपाली जनतामाथि ठूलो गुन लगाएको छ । तर,सत्ता र सरकारमा बसेकाले ध्यान नदिँदा एउटा असल छिमेकी ठुस्किएको छ । यो अवस्था नेपाल र नेपाली जनताको दीर्घकालीन हितमा नहुने कूटनीतिज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस