चाड पर्वका बेला किसानलाई धान भित्र्याउने चटारो

रासस

सोमबार, २५ असोज २०७८, २० : ०८
चाड पर्वका बेला किसानलाई धान भित्र्याउने चटारो

काठमाडौं ।  बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ ।

मुख्य चाड बडादसैँ मनाउँदै धान बाली पनि भित्र्याउन थालिएको किसानले बताएका छन् । धनगढी उपमहानगरपालिका–१३ का किसान नारायण चौधरीले खेतमा पाकेर झुलिसकेको धान बाली वर्षा भएमा बिग्रिने डरले हतारहतारमा धान भित्र्याउनुपरेको बाध्यता सुनाउनुभयो ।

“दसैँ पनि खुशीका साथ मनाइँदै छ”, उहाँले भन्नुभयो, “दिनदिनै बदली भएर देखिने खराब मौसमका कारण धान बाली पनि भित्र्याउनै पर्ने बाध्यता देखिएको छ ।” 

अधिकांश किसान यति बेला धान काट्ने र काटेको धानलाई थ्रेसिङ गर्ने काममा व्यस्त देखिन्छन् । कोरोनाको जोखिम नहटिसकेको भए पनि मास्क र स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको भने देखिँदैन । 

यद्यपि कोरोनाबाट जोगिन एकआपसमा भौतिक दूरी कायम गरेर बाली भित्र्याउने गरिएको र कतिपयले खोप पनि पाइसकेकाले अब कोरोनाको त्यति डर नहुने कतिपय किसानको तर्क पनि छ । धनगढीकै अर्का किसान डबल खातीले भन्नुभयो, “स्वास्थ्य सुरक्षालाई ध्यान दिई भीडभाड नहुने गरी धान काटिरहेकाले कोरोनाको त्यति डर छैन ।”

किसानको मुख्य आम्दानी स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार दोस्रो हप्तासम्म रोपिएको धान पाकेर बाला झुलिसकेको छ ।  प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस