आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, ०७ : ५६
आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशमा आज प्रदेश सभाको बैठक बस्ने भएको छ। आइतबार अपरान्ह ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छन्। बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि हुनेछ। 

बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ। तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन्। मुख्यमन्त्री शाक्य अल्पमतमा छिन्। उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै उनले विश्वासको मत जुटाउन सक्छिन् तर अवस्था त्यस्तो छैन।

विपक्षी गठबन्धनले बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। शाक्य मुख्यमन्त्री भएको दुई महिना पनि पुगेको छैन। गठबन्धनमा रहेका दलहरूका सांसद बागमतीमा पनि धेरै छन्। नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) को १३ सांसद छन्। 

विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि छन्। विपक्षी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्रीका रूपमा अघि सर्ने तयारीमा छन्। उनलाई विपक्षी गठबन्धनका दलबाट साथ रहने देखिएको छ। केही दिनअघि केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस