चीनको कम्युनिस्ट सरकारबाट नेपाल प्रभावित हुँदैन : कांग्रेस नेता महत

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १८ : २०
चीनको कम्युनिस्ट सरकारबाट नेपाल प्रभावित हुँदैन : कांग्रेस नेता महत

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाल लोकतान्त्रिक देश भएकाले चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने बताएका छन्।  

दिल्लीमा डब्लुआइओएन न्यूजलाई शनिबार दिएको अन्तर्वार्तामा महतले चीन र भारत दुबै देशसँग कुनै पनि सम्झौता गर्दा नेपालले आफ्नो हित सुरक्षित गर्ने बताए।काठमाडौंमा बढ्दो चिनियाँ प्रभावबाट दिल्ली चिन्तित छ। तपाईं दिल्ली र बेइजिङसँगको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?  यो प्रश्नको जवाफमा पूर्व परराष्ट्रमन्त्री महतले भनेका छन्, ‘दुबै देशसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ। हामी दुई ठूला देशहरूको बिचमा अवस्थित छौं। हामीले राम्रो सम्बन्ध राख्नुपर्छ, तर सम्बन्ध नेपालको हितमा आधारित हुनुपर्छ ।’

महतले चीनको कम्युनिस्ट सरकारप्रति लक्षित गर्दै त्यसबाट नेपाल प्रभावित नहुने बताएका छन्। ‘नेपाली कांग्रेस निकै प्रष्ट छ, त्यहाँ चीनमा कस्तो सरकार छ, त्यसबाट नेपाल प्रभावित हुने छैन। यो राष्ट्र–राष्ट्र बीचको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँग कुनै सम्बन्ध छैन’, महतले भने, ‘हामी लोकतान्त्रिक देश हौं र लोकतान्त्रिक तरिकाले हाम्रो देश चलाउँछौं। हाम्रो देशको हित सुरक्षित छ भन्ने हामी सुनिश्चित गर्छौं र कुनै पनि देशबाट अर्को देशको सुरक्षामा अतिक्रमण हुन दिँदैनौँ।’

‘जब हामी चीनसँग सम्झौता गर्छौं, हाम्रा हितहरू सुरक्षित रहेको हामी पक्का गर्छौँ’, महतले थप भनेका छन्, ‘भारतसँगको सम्बन्धमा पनि हाम्रो हित सुरक्षित रहेको सुनिश्चित हुनेछ। यो सिद्धान्त पालना गर्यौं भने हाम्रो हितमा कसैले अतिक्रमण गर्न सक्दैन।’ भारतीय जनता पार्टीको निमन्त्रणामा तीन सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका महतले शुक्रबार भाजपा अध्यक्ष जेपी नाड्डा र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। 
 

प्रतिक्रिया दिनुहोस