लगानी बोर्डले स्वीकृत गर्यो ७३ अर्ब बराबरको लगानी

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १५ : २२
लगानी बोर्डले स्वीकृत गर्यो ७३ अर्ब बराबरको लगानी

काठमाडौं । लगानी बोर्डको ४८औं बैठकले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा आज सम्पन्न भएको बोर्डको ४८औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको हो ।

लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजना रहेको छ । त्यस्तै संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ ।

यसै गरी, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको संयोजकत्त्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एकविज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहेका छन् ।

बैठकले लगानी बोर्डको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस