मन्त्री छान्न सत्तारुढ गठबन्धनलाई सकस ! आन्तरिक छलफलमा व्यस्त, कोको बन्दैछन् मन्त्री ?

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १६ : ०९
मन्त्री छान्न सत्तारुढ गठबन्धनलाई सकस ! आन्तरिक छलफलमा व्यस्त, कोको बन्दैछन् मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको ८६ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सवत्र्र आलोचना भइरहेको छ । सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागवन्डा मिलाए पनि दलहरुलाई मन्त्री छान्न सकस भइरहेको छ । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि दलहरुलाई मन्त्री छनौट गर्न गाह्रो परेको हो । 

जसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र स्वयम् कांग्रेसलाई  पनि मन्त्रीको आकांक्षी धेरै भएपनि मिलाउन हम्मेहम्मे परेको छ । नेकपा एसलाई र जसपाबाट मन्त्रीको आकांक्षी बनेकाहरुलाई मन्त्री नबनाए नेता अर्को पार्टीमा जालान् भन्ने डर छ । जसका कारण मन्त्री छनौट गर्न सकस पैदा भइरहेको छ । 

भागबण्डा मिलेपछि दलहरूले मन्त्री बन्नेहरूको नाम तय गर्न आन्तरिक छलफल गरिरहेका हुन् । मन्त्री छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेलसँग मन्त्रीका लागि २ जनाको नाम पठाउन आग्रह गरेका छन् । पौडेल समूहले सुजाता कोइराला, मीनेन्द्र रिजाल, दीलेन्द्र बडू र तेजुलाल चौधरीमध्येबाट नाम पठाउने सम्भावना रहेको स्रोतले बतायो । 

माधव नेपाल सरकारमा उपप्रधानमन्त्री रहेकी सुजाताले उपप्रधानमन्त्री पाउनु पर्ने दाबी गरेकी छिन् । प्रधानमन्त्री देउवाले भने उपप्रधानमन्त्री नबनाउने अडान लिएका छन् । देउवाले सिटौला पक्षका एक र पौडेल पक्षका दुई जनालाई मन्त्री बनाउने भएका छन् । सिटौला समूहले उमाकान्त चौधरी या भीमसेनदास प्रधानलाई मन्त्री बनाउने तयारी गरेको छ । चौधरीको नाममा सहमति जुट्ने सो समूहका एक नेताले दाबी गरे । 

सत्तारुढ गठबन्धनका दलले मंगलवार मन्त्रालयको भागबण्डा टुंग्याएका थिए । जसअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५ मन्त्रालय (एक राज्यमन्त्रीसहित) तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसको संस्थापन पक्षबाट यसअघि तीनजना मन्त्री बनिसकेका छन् । गठबन्धनको भागबण्डा मिलाउँदा कानून मन्त्रालय नेकपा एकीकृत समाजवादीको पक्षमा गएकाले ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको स्रोतले बतायो । 

मन्त्रीका लागि देउवा पक्षबाट पुष्पा भुसाल, डा डिला संग्रौला लगायत आकांक्षी छन् । गृह र परराष्ट्र मन्त्रालय लिइसकेको कांग्रेसले सञ्चार, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ । अर्थ र उर्जा मन्त्रालय सम्हालिसकेको माओवादीले शिक्षा तथा विज्ञान प्रविधि, भूमि व्यवस्था तथा गरिवी निवारण र खानेपानी मन्त्रालय पाउने छ । 

माओवादीका तर्फबाट देवेन्द्र पौडेल, सुदन किराँती, शशि श्रेष्ठ र अञ्जना विशंखे मन्त्रीका आकांक्षी छन् । नेकपा एसले श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, शहरी विकास र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने भएको छ । नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । भवानी खापुङ, प्रेम आले, किसान श्रेष्ठ पनि मन्त्रीका आकांक्षी छन् ।

जसपाले भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने तय भएको छ । जसपाका तर्फबाट महिन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र प्रमोद साह लगायत आकांक्षी छन् । मन्त्री बन्नका लागि सांसदहरूले पार्टीभित्र लबिङ गरिरहेका छन् । 

सत्ता साझेदार दलहरूले मन्त्रीको नामावली बुझाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो । बिहीवार सार्वजनिक बिदा परेकाले ढिलोमा शुक्रवारसम्म मन्त्रीहरूलाई शपथ गराएर सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । 

प्रतिक्रिया दिनुहोस