एमालेको विधान महाधिवेशनको तयारी पूरा : प्रतिनिधिलाई खाना, आवासदेखि गाडीसम्म व्यवस्था

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १५ : १३
एमालेको विधान महाधिवेशनको तयारी पूरा : प्रतिनिधिलाई खाना, आवासदेखि गाडीसम्म व्यवस्था

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीको विधान महाधिवेशनको तयारी पूरा भएको बताएको छ। असोज १५, १६ र १७ गते हुने महाधिवेशनबारे आज (बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा एमाले नेता खिमलाल भट्टराईले एमालेकै सरकारले निर्माण सम्पन्न गरेकोले गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा महाधिवेशन आयोजना गर्न लागिएको बताए। महाधिवेशनका लागि एमालेले रामबहादुर थापा संयोजक रहेको मूल व्यवस्थापन समिति गठन गरेको छ।

एमालेको विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधिले भाग लिने छन्। महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन्। केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनका पदाधिकारी र वरिष्ठ सदस्यमध्येबाट १० जना सहभागी हुने छन्। केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्‍च पर्छन्। त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिनेछन्।

विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ ।महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको छ । प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ । निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघ, अनेरास्ववियूलगायत २ सयको संख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । विधि र नीतिसँग सम्बन्धित रहेर महाधिवेशन केन्द्रीत रहेको संयोजक थापाले बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतदेखि पार्टीको आगामी आन्दोलन कार्यभार र नेतृत्व निर्माणको विषय, विचारधाराको बहस हुने छ ।

महाधिवेशन शुक्रबारदेखि ३ दिनसम्म गोदावरीमा चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस