निक्षेपभन्दा चार गुणा बढी कर्जा लगानी

पत्रपत्रिकाबाट

बुधबार, १३ असोज २०७८, ०७ : ५५
निक्षेपभन्दा चार गुणा बढी कर्जा लगानी

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ को असोजको पहिलो साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलनभन्दा कर्जा लगानी झन्डै चार गुणाले बढेको छ। पछिल्लो समय निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढाइरहेका वाणिज्य बैङ्कहरूले असोजको पहिलो साता पनि त्यस्तै दोहोरिएको छ।

असोजको पहिलो साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन आठ अर्ब रुपियाँले र कर्जा लगानी ३१ अर्ब रुपियाँले बढेको छ।नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार भदौ ३१ गतेदेखि असोज ८ गतेसम्म निक्षेप सङ्कलन आठ अर्ब रुपियाँ र कर्जा लगानी ३१ अर्ब रुपियाँले बढेको हो। 

सोही अवधिमा बैङ्कहरूले ३९ खर्ब तीन अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन्। भदौ ३१ गतेसम्म बैङ्कहरूले ३८ खर्ब ७२ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए।भदौमा बैङ्कहरूमा ४८ अर्ब निक्षेप सङ्कलन हुँदा १०८ अर्ब रुपियाँ कर्जा प्रवाह भएको थियो।  बैङ्कहरूले चालू आवको दोस्रो महिना भदौसम्ममा ४१ खर्ब ७१ अर्ब निक्षेप सङ्कलन गरी ३८ खर्ब ७२ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए।साउनमा २७ बैङ्कहरूबाट ७८ अर्ब रुपियाँ निक्षेप घटेको थियो। 

साउनमा उल्लेख्य रूपमा बैङ्किङ प्रणालीबाट पैसा झिकिनुका साथै कर्जा विस्तार पनि सोही गतिमा भए पनि भदौमा बैङ्कहरूमा तरलता अभावको समस्या जटिल बन्दै गएको थियो। कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिले गति लिएसँगै बैङ्कहरूको कारोबार भने बढ्न थालेको छ। बैङ्कमा कर्जाको माग तथा साउनको तुलनामा निक्षेप पनि थपिन थालेको छ ।

भदौमा अन्तिम साता मात्र बैङ्कहरूको निक्षेप सङ्कलन २६ अर्ब रुपियाँले बढेको थियो। भदौको पहिलो साता सात अर्बले घटेको निक्षेप सङ्कलन दोस्रो साता आठ अर्ब रुपियाँले बढेको थियो। तेस्रो साता चार अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपियाँले बढेको थियो। गोरखापत्रमा खबर छ।
 

प्रतिक्रिया दिनुहोस