आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडादर बढ्यो, कति पुग्यो नयाँ भाडादर ?

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, ११ : ४७
आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडादर बढ्यो, कति पुग्यो नयाँ भाडादर ?

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । विभागले देशभरका २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस