बक्सिङ छनोट : सनिललाई सफलता

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, ११ : ५९
बक्सिङ छनोट : सनिललाई सफलता

काठमाडौं  । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् ।नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई सोमबार ५–० ले पराजित गरे । यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबार नै सकिएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपीएफका पूरन राई, ६३ केजीमा १३ औं सागका स्वर्णधारी नेपाल प्रहरीका भुपेन्द्र थापा मगर र ७१ केजीमा एपीएफका विकास लामा आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ संघले गठन गरेको छनोट समितिले यी पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी दिए । विश्व च्याम्पियनसिप  सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस