पार्टीभित्रै पछि हटे एमाले अध्यक्ष ओली, अब सबै पदाधिकारी निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, ०९ : १९
पार्टीभित्रै पछि हटे एमाले अध्यक्ष ओली, अब सबै पदाधिकारी निर्वाचित

काठमाडौं । एमाले अध्यक्ष केपी ओली अन्ततः पार्टीभित्रै आफ्नै योजनाबाट पछि हटेका छन् । आफ्नै कट्टर पक्षधर नेताहरुले नै ओलीको अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित हुने तर पदाधिकारी निर्वाचित केन्द्रीय समिति त्यसमा पनि अध्यक्षले मनोनित गर्ने ब्यवस्था विधान संसोधनका नाममा ल्याउन खोजेपछि उनकै समर्थकहरु ओलीको प्रस्तावमा असन्तुष्ट थिए । त्यसमाथी माधव नेपाललाई अन्तिम समयमा धोका दिएर ओलीसँगै आत्मसमर्पण गरेर बसेका नेताहरु थप त्रसित थिए ।

ओलीले अबको एक कार्यकाल पार्टी अध्यक्ष आफै बन्न अग्रसर हुने र माधव नेपाल बाहिरिसकेको अवस्थामा अब ओलीले जे चाहयो त्यही मात्र पार्टीभित्र हुने अवस्थामा पदाधिकारी मनोनित गर्दा आफुहरु नसमेटिने भय माधव नेपाल छोडेका नेताहरुमा पनि थियो । ओलीकै टिममा रहेका नेताहरुमा पनि ओलीले सिमित पदाधिकारीको संख्यामा मनोनित गर्दा आफुखुसी गर्ने  र त्यसले ओलीको थप चाकरीमा समय लगाउनु पर्ने देखेपछि ओली समुहभित्र पनि भित्रभित्र ओलीको प्रस्तावमा असन्तुष्टि चुलिदै थियो ।

तर आइतबारबाट शुरु भएको एमाले स्थायी कमिटि बैठकमा फेरि ओलीको योजना भन्दा विल्कुल फरक प्रस्ताव आएको छ । अर्थात, अब अध्यक्ष सहित पदाधिकारी र सदस्य सबै निर्वाचित हुनुपर्ने नयाँ प्रस्ताव छलफलमा आएको छ । एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुदैछ । त्यही विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदामा एमालेभित्र अहिले बहस भईरहेको छ ।

एमालेको आइतबारको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल शुरू भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार, आइतबारको बैठकमा अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले धारणा राखेका थिए । आज पूनः बैठक बस्दैछ । बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी एमालेले गरेको छ ।

केन्द्रीय कमिटिमा आएका सुझाव सम्मलाई समेटेर विधान महाधिवेशनमा केन्द्रीय समितिका तर्फबाट विधान प्रस्ताव लैजाने तयारी छ । आइतबार यताको छलफलमा संगठन विभागले पेश गरेको प्रस्तावित विधानमा अध्यक्षसहितका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ । साउन २५ मा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष र महासचिव महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारी केन्द्रीय सदस्यमार्फत अध्यक्षले मनोनीत गर्ने प्रस्ताव थियो । उक्त प्रस्तावको पार्टीभित्रै आलोचना भएपछि नवौं महाधिवेशनको व्यवस्थालाई नै निरन्तरता दिने खालको प्रस्ताव पेस गरिएको हो ।

नवौं महाधिवेशनको निर्वाचनवाट पदाधिकारीमा बहुमत माधव नेपाल पक्षले जितेको थियो । त्यसले गर्दा ओली पदाधिकारीमा अप्ठ्यारोमा थिए । उनले सोही देखेर आफु अनुकुलका र आफ्नो चाकरीमा रहनेलाई मात्र पदाधिकारी चयन गर्ने गरी विधानमा अध्यक्ष र महासचिव निर्वाचित हुने अन्य पदाधिकारी मनोनित गर्ने ब्यवस्था विधानमा गर्न खोजेका थिए ।तर उनको त्यो योजनामा पार्टीभित्रै चर्को असन्तुष्टि भएपछि ओली पार्टीभित्रै पछि हटेका हुन् ।