लिलाम नहुँदा अर्बौंको गाडी कुहिँदै

पत्रपत्रिकाबाट

सोमबार, ०४ असोज २०७८, ०८ : ०३
लिलाम नहुँदा अर्बौंको गाडी कुहिँदै

काठमाडौं । समयमै लिलामी प्रक्रिया अगाडि नबढाइँदा अर्बौं मूल्यका सवारी साधन भन्सार क्षेत्रमा कुहिन थालेका छन्। विभिन्न समयमा पक्राउ गरी भन्सार दाखिला गरिएका सवारी साधनका पार्टपुर्जाहरू काम नलाग्ने गरी कुहिन थालेका हुन् ।

सुरक्षाकर्मीद्वारा विभिन्न समयमा बरामद गरी भन्सार दाखिला गरेका सवारी साधन समयमै लिलाम नगर्दा सरकारको मोटो राजस्व गुम्ने देखिएको छ। अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्बौ राजस्व उठ्ने देखिन्छ।  

विगत चार वर्षदेखि थन्किएको सवारी साधन समयमै लिलाम नहुँदा कतिपय कवाडमा परिणत भएका छन्। चार वर्ष पहिले हजारौंमा बिक्री हुने सवारी साधनका पार्टपुर्जा कुहिएर कौडीको मूल्यमा बिक्री हुने अवस्थामा पुगेको छ।  

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोरी पैठारीका सवारी साधन नियन्त्रणमा लिई भन्सारमा बुझाउने गरेका छन्। भन्सारमा बुझाउने बेलामा कतिपय गाडीहरू नयाँ पनि हुन्छन्। भन्सारमा वर्षौं थन्क्याएर राख्दा घाम र पानीले खिया लागी सवारी साधन बर्बाद हुने गरेका छन्।  

भन्सार दाखिला भएका कतिपय सवारी साधनको पार्टपुर्जा चोरीसमेत भएको देखिन्छ। सुरक्षाकर्मीले चालु हालतमा भन्सार कार्यालय दाखिला गरेको सवारी साधन अहिले कामै लाग्ने स्थितिमा नभएको भन्सार कर्मचारी नै बताउँछन्। अधिकांश सवारी साधन लामो समयसम्म लिलाम हुन नसक्दा खराब भएर गएका छन् भने कतिपयको पार्टपुर्जा चोरी भएको कर्मचारीको भनाइ छ।  

भन्सारनजिकै रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट, भन्सार सुरक्षा गार्ड तथा भन्सार कार्यालयको परिसरमा राखिएका सवारी साधन बर्सेनि आउने बाढीका कारण डुबानमा पनि पर्ने गरेका छन्। बाढीको हिलो र पानी पसेर सवारी साधनहरू कवाड बनेको भन्सार कर्मचारीको भनाइ छ।  

भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधन कति छन् भन्ने यकिन तथ्यांक पाउन पनि मुस्किल छ। एक कर्मचारीका अनुसार भन्सार कार्यालयमा लगभग आठ सयवटा विभिन्न कम्पनीका मोटरसाइकल, ६० वटा चारचक्के साना गाडी र एउटा ठूलो ट्रक छ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस