नेपालमा बजेट बनाउने प्रणाली डरलाग्दो छ : अर्थमन्त्री

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १४ : २७
नेपालमा बजेट बनाउने प्रणाली डरलाग्दो छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् ।

शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो भेटिएको बताए ।अर्थमन्त्री शर्माले अगाडि भने, ‘देशलाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक भेटिएन । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको पाइयो ।’ आफूले सबै मन्त्रालयका सचिवलाई पुँजिगत खर्च नहुनुको कारणबारे सोध्दा ‘चाहिने ठाउँमा बजेट नभएको र नचाहिने ठाउँमा बजेट हालेका कारण खर्च नभएको’ उत्तर पाएको उनले सार्वजनिक गरे ।

उनले नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको भन्दै सोही अनुसारको प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । रोजगारी सिर्जनाका लागि मुलुक भित्र उद्योग–धन्दा खोल्नु पर्ने भन्दै त्यसको पक्षमा निर्णय लिँदा कतिपयलाई घाटा पर्न सक्ने बताए । आफूले व्यक्ति भन्दा मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको उनको तर्क छ। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउँन खोज्दा सरकारी संयन्त्रले नै नमानेको भन्दै उनले वातावरण सहज बनाउनु भन्दा ढोका नै बन्द गर्ने प्रचलन सरकारी संयन्त्रको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस