लोकसेवा आयोगमा नयाँ नियुक्ति र बढुवा प्रक्रिया धमाधम

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ असोज २०७८, ०८ : १०
लोकसेवा आयोगमा नयाँ नियुक्ति र बढुवा प्रक्रिया धमाधम

काठमाडौं ।  लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र  बढुवासम्बन्धी  रोकिएका  कामलाई  धमाधम  अगाडि  बढाउन थालेको छ । 

आयोगले  सरकारी  सेवालाई  थप  प्रभावकारी  बनाउन  नयाँ  पदको  सिर्जना  गरी  पदपूर्ति  गर्न  र  कर्मचारीको  वृत्तिविकास  गर्न  हरेक  वर्ष  खुला  तथा  आन्तरिक  प्रतिस्पर्धाबाट  पदपूर्ति  तथा  बढुवाका  प्रक्रिया  गर्दै आएको छ । तर  विगत  दुई  वर्षमा  कोभिडको  महामारीले  गर्दा  प्रकाशित भइसकेका पदका लागि  परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन । कोभिडको  प्रभाव  कम  भएसँगै  विगतमा  स्थगित  भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका  प्रवक्ता  तोयानारायण  सुवेदीका  अनुसार  आर्थिक  वर्ष  २०७६-७७ र २०७७-७८ गरी दुई वर्ष रोकिएका सबै पदका  परीक्षा  सञ्चालन  भइसकेका छन् ।

ती दुई वर्षका सहसचिव तथा  उपसचिव  तहका  कार्यक्षमता  र  जेष्ठताको  बढुवाको  परीक्षाफल  प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस