जनगणना : घरपरिवार सूचीकरणका लागि रसुवामा २२ सुपरीवेक्षक खटिए

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, १३ : ५१
जनगणना : घरपरिवार सूचीकरणका लागि रसुवामा २२ सुपरीवेक्षक खटिए

 । जनगणनाअन्तर्गत घर तथा परिवार सूचीकरणका लागि रसुवामा २२ जना सुपरीवेक्षक खटिएका छन् । बुधबार जिल्लाको पाँचवटै गाउँपालिका २२ जना सुपरीवेक्षक खटिएका हुन् । 

जिल्ला जनगणना कार्यालय रसुवाका प्रमुख कपिल धितालका अनुसार जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा चार, गोसाइँकुण्ड गाउँपालिकामा चार, कालिका गाउँपालिकामा चार, उत्तरगया गाउँपालिकामा चार र नौकुण्ड गाउँपालिकामा ६ गरी २२ जना सुपरीवेक्षक खटिएका छन् । उनीहरूलाई आइतबार र सोमबार तालिम दिई कार्यक्षेत्रमा खटाइएको घितालले बताए । 

उनीहरूले १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरण कार्य गर्ने भएका छन् । सुपरीवेक्षकले मूलगणनाको समयमा स्थानीय तहका वडामा सामुदायिक प्रश्नावली भर्नेसम्मका काम गर्ने बताइएको छ । गणकको नियुक्तिपछि एक सुपरीवेक्षकले औसतमा चारजना गणकलाई परिचालन गरी गणना गर्ने भएका छन् । गणकका लागि आगामी कात्तिकमा तालिम दिइने जनाइएको छ । गणकले २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने उनले जानकारी दिए । 

जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरी काम अघि बढाइएको जनाइएको छ । कार्यालयले मंसिर मसान्तसम्ममा काम सम्पन्न गर्ने जनाइएको छ । 

जिल्ला जनगणना कार्यालय रसुवाले जनगणना कार्यक्रम अघि बढाएको जनाएको छ । जनगणना कार्यालय स्थापनालगायतको काम अघि बढाएको घितालले बताए । गोसाइँकुण्ड र कालिका गाउँपालिकामा स्थानीय जनगणना कार्यालय पुनस्स्थापना गरिएको छ । जिल्लास्थित स्थानीय तहको सबै वडामा पनि जनगणना कार्यक्रम सहजीकरणका लागि वडास्तरीय सहजीकरण समिति गठन गर्न सबै स्थानीय तहलाई पत्राचारसमेत गरिएको बताइएको छ । 

गएको असारमा नै सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको जनगणना विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को कारण स्थगित भएको थियो । गत २१ भदौमा मन्त्रिपरिषद्ले बैठकले स्थगित राष्ट्रिय जनगणनाको कार्यक्रम अघि बढाउने गरी संशोधित कार्यतालिका स्वीकृत गरेको थियो ।

२०६८ को जनगणनाअनुसार रसुवामा ४३ हजार तीन सय  जनसंख्या रहेको छ । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार २०७८ को जनगणनामा रसुवा जिल्लाको जनसंख्या ४५ हजार दुई सय पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस