माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी कहिले जाला सरकारमा ?

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, ११ : ३२
माधव नेपालले  नेतृत्व गरेको एकीकृत समाजवादी  पार्टी कहिले जाला सरकारमा ?

काठमाडौँ । माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा कहिले जाने अझै निश्चित भइसकेको छैन । जसका कारण शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा माधव नेपाल समूहलाई कुर्दै बसेका छन् । 

ओलीसँगसँगै रहन नसक्ने निष्कर्ष निकाल्दै एमालेबाट छुट्टिएर नयाँ पार्टी गठन गरेका नेपालले कहिलेसम्म देउवालाई कुराउलान् ? यसबारे अझै निश्चित नभएको समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल बताउँछन्। उनी भन्छन्, ‘सरकारमा जान हामीलाई उपयुक्त समय आवश्यक पर्छ। हामी चुनौती नै चुनौतीको चाङमा छौँ। सुरक्षित बाटो खोज्नु स्वाभाविक हो ।’ देउवाले गत २९ असारमा शपथ खाएका थिए। सुरुको एक महिना नेपालले एमाले एकताको सम्भावना रहेसम्म सरकारमा नजाने अडान लिएका थिए।

देउवा सरकारले ल्याएको अध्यादेशका आधारमा २ भदौमा निर्वाचन आयोगमा भिन्नै पार्टी दर्ता गराएका उनलाई ९ भदौमा आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो। त्यसपछि आयोगले २२ भदौसम्म प्रदेश र स्थानीय निर्वाचित प्रतिनिधिलाई दल छनोटको समय तोक्यो। नेपालले त्यतिन्जेल मन्त्रिपरिषद् विस्तार नहुने सार्वजनिक रूपमै बोले।

उनीलगायत १४ जना सांसदविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। यो मुद्दा किनारा नलागेसम्म सरकारमा जाने मनस्थिति नेपालले बनाएको बुझिन्छ। ‘सर्वोच्चले हाम्रो वैधानिकतालाई लिएर पक्कै पनि प्रश्न उठाउने छैन। तर, कथंकदाचित हाम्रो वैधानिकता समाप्त गर्‍यो भने के गर्ने ? छोटो समय सरकारमा जानु अर्थहीन हुन्छ। त्यसैले अझै पनि प्रतीक्षा गर्नुको विकल्प छैन,’ नेपालनिकट अर्का एक सांसद भन्छन्।’

यता, उपेन्द्र यादव पनि मन्त्रीका लागि आफ्नो पार्टीबाट नाम पठाउन असफल छन्। उनले भने आफूलाई चित्तबुझ्दो मन्त्रालय नपाएकाले नाम नपठाएको देउवानिकट कांग्रेसका ती नेताले बताए। उनी भन्छन्, ‘एक मन्त्रिपरिषद् विस्तारबारे एक दिन गहन छलफल भएको थियो। बाँकी रहेका शक्तिशाली मन्त्रालय कसले कति लिने भन्नेमा नेपालसँग उपेन्द्रको भनाभन भयो। त्यसपछि यसबारे यादवले खुलेर कुरा गर्नुभएको छैन ।’

प्रतिक्रिया दिनुहोस