लघुकथा

अन्जान सम्झौता

शुक्रबार, ०७ बैशाख २०७५, १७ : १७
अन्जान सम्झौता
आचार्य प्रभा

आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी- “हजुरलाई साँच्चै बच्चाको प्यास जाग्न थाले जस्तो छ त्यसैले त अब मोबाइलमा पनि बच्चाको फोटो सजाउँन थाल्नु भएकोछ । अब पहिलाको हाम्रो सम्झौतालाई तोडी दिउँ ।”

उसको श्रीमानले अत्तालिँदै प्रश्न तेर्स्याए – “कस्तो सम्झौता?”

ऋचाले शर्माउँदै भनी- “क्या त बिहे गरेको पाँच वर्षसम्म बच्चा नजन्माउँने भन्ने सम्झौता । बिर्सिनु भो?”

ऋचाको आशय बुझेर श्रीमानले अलिक अन्कनाउँदै भने- “हो ऋचा तिमीसँग त्यति मात्र मेरो सम्झौता होइन । तिमीसँगको अर्को मेरो सम्झौता हो अमेरिकामा स्थाई हुनलाई तिमीसँगको विवाहको नाटक । तिम्रो ग्रीनकार्डसँगको विवाह हो मेरो । तिम्रो जीवनसँग होइन । अनि अब यो पनि जान, यो मोबाइलमा भएको बच्चाको तस्बिर मेरी छोरीको हो जो नेपालमा हुर्कंदैछ आफ्नी आमाको काखमा ।

उसको कुरा सुनेर ऋचा किङ्कर्तब्यबिमूढ बन्छे ।

प्रतिक्रिया दिनुहोस