फेरि सडकमा जानपर्ने अवस्था आउनसक्छ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, ११ : ३७
फेरि सडकमा जानपर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’

दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए । ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारे । ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौं,’ उनले भने, ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’ युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताए ।

‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’ प्रचण्डले देश देश झण्डैझण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिरसमेत गरे ।

‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौ । विगत ८, १० वर्ष अरुलाई गाली गरेर बितायौँ । अब आफैलाई गाली गरौ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ’ प्रचण्डले त्यसो गर्न सके आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सकिने धारणा राखे । आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ प्रचण्डको भनाइ छ ।  उनले विगत १५ वर्षमा पार्टीबाट सय जना मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्ने बेला भएको बताए । 

सम्बोधनको क्रममा उनले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गरे । बोगटीले नेतृत्वको आलोचना गरे पनि मुख्य नेतृत्वलाई सहयोग गर्ने भावना कहिल्यै नभुलेको स्मरण गरे । उनी पार्टी एकताको प्रतिकको रुपमा भूमिका खेलेको पनि स्मरण गरे ।