झापा संघर्षको उपज एमाले जनयुद्ध शब्दसंग किन सशंकित ?

शुक्रबार, ०७ बैशाख २०७५, १४ : ५७
झापा संघर्षको उपज एमाले जनयुद्ध शब्दसंग किन सशंकित ?

कमलेश डि.सी.

२०२८।२९ सालतिर झापामा आजको एमालेको मातृसंस्था मालेले वर्गशत्रु सखाप नामक हिंसात्मक आन्दोलन गरेको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको विकासक्रममा झापा संघर्ष एउटा महत्वपूर्ण अध्याय बनेको छ । अहिले एमाले र माओवादीबीच पार्टी एकताको सन्दर्भ चलिरहेकोले पनि यो विषय चर्चामा आएको छ । एमाले झापा आन्दोलनबाट विकसित भए जस्तै माओवादी जनयुद्धबाट झांगिएको पार्टी हो ।

जनयुद्धको इतिहास त विश्व कम्युनिष्ट आन्दोलनमै महत्वपूर्ण आयाम बनेको छ । विश्वलाई नै चकित पारेको जनयुद्धले नेपाली राजनीतिमा आधारभूत परिवर्तनहरु ल्याइदिएको छ । जनयुद्धले उठाएका एजेण्डाहरु नै अन्ततः नेपाली राजनीतिका एजेण्डा बने र तिनले नेपाललाई सयौं वर्षदेखिको सामन्ती उत्पीडनबाट मुक्त पनि बनाए । गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता जस्ता विषयहरु जनयुद्धकै उपलब्धी हुन । जनयुद्धले ल्याएको परिवर्तनमा नै आज एमाले कांग्रेस लगायतका पार्टीहरुले सत्ताको नेतृत्व गर्ने अवसर पाएका छन् । जनताका छोराछोरीहरु देशको सर्वोच्च स्थानमा पुग्न सफल भएका छन् ।

इतिहासलाई तरंगित बनाएको जनयुद्ध शब्द अहिले पार्टी एकताको सन्दर्भमा निकै पेचिलो बनेको छ । देशका दुई ठूला वाम पार्टीहरु निर्वाचनमा मिलेर देशले स्थिर सरकार पाएको छ । जनतामा पनि निकै ठूलो उत्साह पैदा भएको छ । प्रारम्भमा पार्टी एकता नेतृत्वको चाहना मात्र भए पनि निर्वाचनपछि जनताको तीब्र आकाँक्षको विषय बनिसकेको छ । तर अहिले एमालेका केही नेताहरु जनयुद्धसंग नै सशंकित बन्न थालेका छन् । जसको कारण एकतामा अवरोध सिर्जना भैरहेको छ । एमाले पनि पछिल्लो राजनीतिक परिवर्तनप्रति स्वामित्व लिइरहेको दल हो ।

सारा राजनीतिक विषयहरुमा सहमति भैसकेपछि जनयुद्धलाई विवादको विषय बनाइनु भने अर्थपूर्ण छ । कतै नेपालमा कम्युनिष्ट एकता नचाहने बाहिरिया शक्तिहरुको प्रभावमा परेर यी सबै चलखेलहरु भैरहेका त छैनन् ? यति नै कारणले एकता भाँडियो भने यो भन्दा ठूलो राजनीतिक बेइमानी र जनताप्रति गद्धारी अरु केही हुने छैन । एकता जहिले पनि र जोसंग पनि दुवै पक्षको सम्ममानजनक सहभागितामा हुने गर्दछ । एमालेलाई मात्र किन जनयुद्धसंग आपत्ति ? माआोवादीले त झापा संघर्षप्रति कुनै आपत्ति जनाएको छैन । यी दुवै परिघटनाहरु नेपाली कम्युनिष्ट आन्दोलनका पूंजी हुन । यिनको अवमूल्यान गरेर कही पुगिदैन । त्यसैले एकताको मर्मलाई आत्मसात गरेर अघि बढौं । यही आजको आवश्यकता हो । 

प्रतिक्रिया दिनुहोस