आइतबारदेखि हनुमाननगरमा पठनपाठन सञ्चालन हुने

रासस

शनिबार, २६ भदौ २०७८, २२ : ०३
आइतबारदेखि हनुमाननगरमा पठनपाठन सञ्चालन हुने

फाइल फोटो

काठमाडौं । कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ । 

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि हनुमाननगर र भारदह क्षेत्रका  विद्यालय आइतबारदेखि खुल्ने जनाइएको छ ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो ।

सोहीअनुरुप  भदौ २७ गतेदेखि हनुमाननर कंकालिनी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवले जारी गर्नुभएको सूचनामा कोभिड–१९ का कारण बन्दाबन्दीले विगत लामो समयदेखि बन्द रहेको विद्यालय भौतिक रुपमा नै उपस्थित भएर विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय भएको जनाइएको छ । सूचनामा कोभिड– १९ बाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गरी कक्षा ४ देखि १२ सम्म भौतिक रुपमा उपस्थित भई कक्षा सञ्चालन गर्नेभएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस