शिवालयहरुमा तीजका वर्तालुको भीड

रासस

विहीबार, २४ भदौ २०७८, ११ : ११
शिवालयहरुमा तीजका वर्तालुको भीड

काठमाडौँ । हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो ।

विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन् ।

मन्दिर खुलेका बेलामा जति वर्तालु पशुपति क्षेत्रमा नआएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइने कोषले जनाएको छ । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन् ।

गोठाटारबाट बिहानै पशुपति क्षेत्र आउनुभएकी शर्मिला चालिसे पशुपतिनाथको मूल मन्दिर रहेपनि अन्य शिवालयमा पूजा आराधनाका लागि आएको बताउनुहुन्छ । मन्दिर नखुले पनि पशुपति क्षेत्रमा नआए तीजजस्तो नलाग्ने भएकाले आफू आएको उहाँको भनाइ छ । अन्य मन्दिर जाँदा पशुपति क्षेत्रको जस्तो खुलापनको अनुभव नहुने भक्तजनले बताएका छन् ।

मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै हुने गरेका छन् । यद्यपि पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन ।

प्रतिक्रिया दिनुहोस