जनगणनामा समेटिनेछैन कालापानी र लिपुलेक

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, १८ : ३३
जनगणनामा समेटिनेछैन कालापानी र लिपुलेक

काठमाडौँ । सरकारले गत वर्ष जेठमा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ चुच्चेनक्सा जारी ग¥यो। 

तर नक्सा जारी गरेको एक वर्षपछि हुनलागेको राष्ट्रिय जनगणनामा नेपालका ती भूभागमा बसोबास गर्ने नेपाली भने छुट्ने भएका छन्। 

केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी कात्तिकमा पुनः सञ्चालन गर्ने निश्चित गरे पनि उक्त भूभागमा भने गणना नगर्ने भएको हो। 

विभागका महानिर्देशक नेबललाल श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न नसक्ने जनाए।

‘यो एकदमै संवेदनशील विषय हो। तथ्यांक विभागमात्रै गएर त्यहाँ जनगणना गर्नसक्ने अवस्था छैन। यो वास्तविकता हामीले मान्नुपर्छ’, महानिर्देशक श्रेष्ठले भने, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग हामी निरन्तर छलफलमा छौँ। के सम्भव छ, निक्र्यौल गर्छौँ।’
 
महानिर्देशक श्रेष्ठले छलफलमा रहेको बताए पनि विभागले भने उक्त विवादित भूभागबाहेकको जनगणनाको कार्ययोजना बुधबार नै सार्वजनिक गरेको छ। 

कोरोनाका कारण स्थगित जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुनेछ। उक्त १५ दिनमा अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना गर्ने श्रेष्ठले बताए। 

गणक, सुपरिवेक्षकको समेत सर्टलिस्ट गरिसक्दा लिपुलेक–लिम्पियाधुराका लागि भने सम्भव भएसम्म समेट्ने प्रयास गरिने महानिर्देशक श्रेष्ठ बताउँछन्।   

प्रतिक्रिया दिनुहोस