नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १७ : ००
नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओको बैठक बस्दै

काठमाडौं । नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ ।आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल हुने र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए ।

११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए ।

यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको छ । स्वास्थ्य सचिव डा। रोशन पोखरेलले कोभिडसहित नसर्ने र मानसिक रोगबारे समेत छलफल हुने बताए ।

दक्षिणपूर्वी एसियाका ११ देशमा कोभिडको खोपको आपूर्तिको अवस्थाबारे पनि छलफल हुने जानकारी उनले गराए । विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा। राजेश पाण्डवले वार्षिक बेठकमा महामारीको अवस्थामा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक योजनाबारे छलफल हुने जनाए ।

प्रतिक्रिया दिनुहोस