धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १३ : २७
धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

काठमाडौं । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले एक विज्ञप्ति जारी गर्दै बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्चर्यको विषय भएको जनाएको हो।

बैंक र ग्राहकबीच कर्जा असुलीका क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंकजस्तो संवेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरिदिन बैंकले सरोकारवाला सबैमा आग्रह गरेको छ। 

गत भदौ १८ गते शुक्रबार ऋणीले कर्जाको सम्पूर्ण साँवाब्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिएको पनि बैंकले जनाएको छ। बैंकले आफ्ना ग्राहकप्रति सधैँ संवेदनशील रहने र भविष्यमा पनि ग्राहकको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।