विवेकशील साझामा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १२ : ४५
विवेकशील साझामा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल

काठमाडौं । विवेकशील साझा पार्टीमा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल भएको छ ।अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा विभाजित छ । विवाद चर्किरहेका बेला अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

पार्टी एकता सम्झौतामा अध्यक्ष र संयोजकको सहमति बैठक बोलाउने उल्लेख छ । तर अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बिहीबार १२ बजे केन्द्रीय कमिटीको बैठक बोलाए । त्यसको काउन्टरमा संयोजक पाण्डेले विहान ११ बजे बैठक राखे ।

समानान्तर बैठक रोक्न विवेकशील साझा युवा संगठनका नेताहरुले पहल थालेका थिए । अध्यक्ष अब्दुस मिया, महासचिव सरोज गौतमसहित ५ नेताले अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेलाई छुट्टाछुट्टै भेटेर संयुक्त बैठक राख्न आग्रह गरेका थिए ।

अध्यक्ष मिश्रले आफूले बोलाएको समयमै बिहीबार १२ बजे संयुक्त बैठक बस्न सकिने बताए । तर संयोजक पाण्डेले कम्तिमा २४ घण्टापछि मात्र बैठक बस्ने बताएपछि सहमतिको प्रयास गर्दै गएको युवा संघका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस