प्रधानमन्त्री देउवाले भने– ‘कांग्रेस एकढिक्का भएर अघि बढ्छ’

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १४ : ५१
प्रधानमन्त्री देउवाले भने– ‘कांग्रेस एकढिक्का भएर अघि बढ्छ’

कपिलवस्तु । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कांग्रेस एकढिक्का भएर बढ्ने दाबी गरेका छन् । बुधबार बिहान कांग्रेस कपिलवस्तु कार्यालयको समुद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा देउवाले स्थानीय निर्वाचनमा जित्ने गरी क्रियाशील भएर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले सरकार गतिशील बन्ने दाबी पनि गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट जनता निराश भएको हुँदा जनताको निराशा हटाउने गरी कांग्रेसले नेतृत्व गर्नुपर्नेमा जोड दिए । सरकारमा सहभागी हुँदै पार्टीलाई सजग बनाई नेपालमा समावेशी लोकतन्त्र संस्थागत गर्ने दायित्व पूरा गर्नुपर्ने समय आएको नेता पौडेल बताए ।

ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस नेतृत्वको सरकार बनेको भन्दै उनले सरकारको औचित्य पुष्टि गर्ने बेला आएको बताए ।

जिल्ला सदरमुकाम तौलिहवा मालपोत कार्यालय नजिकै बनेको दुई तल्ले भवन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए । नौ वर्ष अगाडि शिलान्यास भएको भवन निर्माण गर्दा डेढ करोड बढी रकम खर्च भएको जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । कार्यक्रम नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस