२० वर्षे युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता, तालिबानीले बन्दुक पड्काउदैं मनाए खुसी

एजेन्सी

मंगलबार, १५ भदौ २०७८, ०८ : ३८
२० वर्षे युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता, तालिबानीले बन्दुक पड्काउदैं मनाए खुसी

एजेन्सी । २० वर्षे युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ । द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो।

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्दा झन्डै तीन हजार मानिसको मृत्यु भएको थियो। उक्त आक्रमणका योजनाकार ओसामा विन लादेनलाई तत्कालीन अफगान सरकारले अमेरिकालाई बुझाउन नमानेपछि अमेरिकाले काबुलमा आक्रमण थालेका थियो।

त्यतिबेला पनि काबुलमा तालिबानहरूको सरकार थियो। २० वर्षपछि अमेरिकाले अफगानिस्तान छोड्दा तालिबानहरूले नै काबुलको सत्ता फेरि कब्जा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अमेरिकी सैनिक मिसन सकिएको र आउने समयमा कूटनीतिका माध्यमबाट सम्पर्क निरन्तर जारी राख्ने बताएका छन्।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे ।

अमेरिकाले यसअघि तालिबानसँग दोहामा गरेको सम्झौतामा अगस्ट ३१ सम्ममा अफगानिस्तान छोडिसक्ने उल्लेख थियो। सोही समय सीमा सकिनु एक दिनअघि अमेरिकी सेना फिर्ता गएको हो । अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा नयाँ युगको सुरूआत र अब आफुहरूले नयाँ सरकार गठन गर्ने तालिबानीहरुको भनाई छ ।