नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता छान्दैं

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, ०९ : ३३
नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता छान्दैं

काठमाडौं । एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । अध्यक्ष माधव नेपाललाई नै दल नो बनाउने गरी एकीकृत समाजवादीले आज दल नेता चयन गर्ने अन्तिम तयारी गरेको उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

‘सम्भवतः आजै हाम्रो पार्टीको दल नेता चयन गर्ने काम हुन्छ होला,’ नेता खतिवडाले भने –‘दल नेता चयन पछि केन्द्र देखि प्रदेश तहसम्मसम्म पार्टीको संसदीय दलका नेता, अन्य पदाधिकारी चयनको प्रक्रिया शुरु हुन्छ ।’

दल नेता, दल उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका जिम्मेवारी चयन गर्ने तयारीमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छ ।
केन्द्रमा प्रतिनिधीसभा र राष्ट्रिय सभामा गरी २९ जना सांसदहरु यो समुहमा खुलिसकेका छन् । सनाखतकै लागि उनीहरु निर्वाचन आयोग पुगिसकेका छन् । प्रदेश १ मा शुक्रबार मात्रै १० जना सांसदले आफुहरु नेकपा एकीकृत समाजवादीमा रहने र मंगलवार निर्वाचन आयोगमा  सनाखतका लागि पुग्ने निर्णय गरिसकेका छन् ।

प्रदेश १ मा कम्तीमा १३ देखि १५ जना सांसदहरु एमाले छोडेर एकीकृत समाजवादी रोज्ने तयारीमा छन् । ओलीको प्रदेश सरकार अहिले अल्पमतमा परिसकेको छ । नेपाल पक्षमा रहेका तर ओलीसँगै टाँस्सिन पुगेका भीम आचार्यलाई प्रदेश सरकार जोगाउन र माधव नेपालतिर सांसदहरु नजाउन भनेर ओलीले आफ्ना विश्वासपात्र शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

तर आचार्यले माधव नेपालतिर जाने सांसदहरुको पहिरो रोक्न नसकेपछि उनी मुख्यमन्त्री भएकै दिन देखि नै अल्पमतमा परिसकेका छन् । प्रदेश २ मा ओलीको एमाले भन्दा माधव नेपालको एकीकृत समाजवादी बलियो देखिएको छ । बाग्मति प्रदेशमा पनि एमालेका दुई जना मात्र सांसदले पनि माधव नेपालको एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नेछिन् ।

तर यहाँ कम्तीमा अहिलेसम्म ६ जना माधव नेपालतिर खुलिसकेका छन् । थप ४, ५ जना सांसद पनि दल रोज्न पाउने २१ दिनको समयावधिसम्म माधव नेपालतिरै खुल्ने एकीकृत समाजवादीका नेताहरुको जिकिर छ । गण्डकी र लुम्विनी प्रदेशमा माधव नेपाल पक्ष कमजोर देखिएपनि कर्णालीमा प्रकाशज्वाला लगायतका नेताहरु नेपालको पार्टीमा खुलेका छन् ।

उता सुदुरपश्चिममा पनि कम्तीमा १० देखि १३ जना सम्म सांसदहरु एकीकृत समाजवादीमा खुल्ने अनुमान गरिएको छ । अहिले त्यहाँ भीम रावललाई चक्मा दिदै नेपालको पार्टीमा ६ जना सांसद खुलिसकेका छन् । रावलको अति विश्वासपात्र भनिएका र गृहजिल्ला अछामकै नेताहरु पनि रावललाई एक्लै छोडेर माधव नेपालको पार्टीमा खुलिसकेका छन् । नेकपा एकीकृत समाजवादीले केन्द्रमा संसदीय दलका नेता देखि पदाधिकारी चयन गरेसँगै प्रदेश तहमा पनि यो प्रक्रिया शुरु गर्न लागेको छ । 

प्रतिक्रिया दिनुहोस