काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताएका छन् ।
पार्टीको आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकमा विसं २००७ र २०४६ का परिवर्तनलाई उल्टाउने कार्य भएको इतिहास रहेको हुनाले वर्तमान उपलब्धिलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी पार्टीको काँधमा रहेको विचार व्यक्त गरे ।
उहाँले जनताले पाएको अधिकारलाई जोगाउनु, संरक्षण र संस्थागत गर्नु पार्टीको पहिलो लक्ष्य भएको चर्चा गर्दै विभेद र असमानतालाई हटाउन संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले मुलुकको आर्थिक विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, जलस्रोत र पर्यटन क्षेत्रको विकास गरी नेपाललाई दातृराष्ट्र बनाउन हामीसबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।अध्यक्ष यादवले पूर्वअध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्नु भनेको तर उहाँ पियन बन्न खोज्नु भएकाले चोइटिएर जानुभएको उल्लेख गरे ।
पार्टीका वरिष्ठ नेता अशोककुमार राईले पूर्वसरकारले संसद् विघटन गर्ने कार्य सङ्घीयतामाथिको खड्ग प्रहार भएकाले विरोध गरेको चर्चा गर्दै कार्यकर्ताले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको सदैव विरोध गर्नुपर्नेमा जोड दिए । नेता राईले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्न आग्रह गर्दै चारमहिने पार्टी सुदृढीकरण र जनपरिचालन (सुज) अभियान सञ्चालन गरिने जानकारी दिए ।
पार्टीका कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादवले मुलुकको मुख्य शत्रु भनेको गरिबी हो भन्दै तराई, पहाड र हिमालका जनतालाई एकजुट बनाई समृद्धि ल्याउने बताउनुभयो । उनले सरकारले सबै जनतालाई कोरोनाको खोप, बाढीपीडितलाई राहत र चुरे संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । अभिमुखीकरणमा प्रदेशका १४ जिल्ला कार्यकर्ताको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ भदौ २०७८, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव