अफगानिस्तानबाट महिला खेलाडीलाई तत्काल उद्धार गर्न फिफाको माग

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १६ : ०३
अफगानिस्तानबाट महिला खेलाडीलाई तत्काल उद्धार गर्न फिफाको माग

अफगानिस्तान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले तत्कालै महिला फुटबल खेलाडीहरूलाई अफगानिस्तानबाट बाहिर निकाल्न आग्रह गर्दै विभिन्न देशका सरकारको नाममा पत्र लेखेको छ । तालिबानले काबुल कब्जा गरेयता खेलाडीहरू त्रासमा रहेको उक्त पत्रमा उल्लेख गरिएको छ । फिफाले अफगानिस्तानको अवस्था अस्थिर र चिन्ताजनक रहेको जनाएको छ । 

यसैसाता अफगानिस्तानको राष्ट्रिय महिला टोलीकी कप्तान खालिदा पापोलले खेलाडीहरूलाई बाहिर निकाल्नका लागि सहयोग गर्न खेलकुद निकायहरू समक्ष गुहार मागेकी थिइन् । उनले तालिबानी सत्ताअन्तर्गत बस्न कठिन रहेको बताएकी थिइन् ।

धेरै महिला फुटबल खेलाडीहरू तालिबानले सत्ता कब्जा गरेयता लुकेका छन् । ‘मैले राम्रोसँग सुत्न सकेको छैन । म रोइरहेको छु र सहायताविहीन छु,’ पोपालले भनेकी छिन् । सन् २००७ मा अफगानिस्तानको पहिलो राष्ट्रिय महिला टोली गठन हुँदा उनी महत्त्वपूर्ण सदस्य थिइन् । 

२० वर्षअघि अफगानिस्तानमा तालिबानी सत्ता हुँदा छात्राहरूलाई पढ्न रोक थियो । महिलाहरूले आफ्ना पुरुष आफन्त बिना घरबाट बाहिर निस्कन पाउँदैन थिए । उनीहरूलाई काम गर्न रोक थियो र सधैँ बुर्का लगाएर बस्न बाध्य थिए । 

प्रतिक्रिया दिनुहोस