सम्झौता सकिँदा सडक निर्माण आधा मात्रै

रासस

आइतबार, ०६ भदौ २०७८, १२ : ०९
सम्झौता सकिँदा सडक निर्माण आधा मात्रै

पाँचथर । वर्षअघिको साउन ३० गते जिल्लाका तीन मुख्य ग्रामीण सडक कालोपत्रको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नुपरेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो । सङ्घीय संरचनाअनुसार पहिलोपटक प्रदेश सरकारले धमाधम आयोजना अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माणसमेत सुरुआत हुने धेरैको अपेक्षा थियो ।

तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा बजेटको सुनिश्चितता भएकाले निर्माण व्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कार लिनु भनिएको थियो । यसका लागि समुदायस्तरबाट पनि दबाव दिन सुझाव दिइयो ।

शिलान्यास भएका आयोजना पूरा गर्ने अवधि समाप्त भइसक्दा निर्माण पूरा हुने कुनै छाँटकाँट छैन । बरु सडकमा विगतमा जस्तो दुःख थियो, त्यो अहिलेसम्म हटेको छैन । समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुले हैरानी ब्यहोरिरहेका छन् भने बिरामी समयमा अस्पताल पुग्न सकिरहेका छैनन् । कृषि उपजले बजार पाउन सकेका छैनन् । खाद्यान्नको ढुवानी गर्न पनि समस्या परिरहेको छ ।

विसं २०७६ साउन ३० गते तामझामसहित कालोपत्रको शिलान्यास गरिएको जिल्लाको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा ना २ ख ९२३६ नंको ट्रक फसेको दुई साता बित्यो । विस्तार गरिएको सडकको हिलो माटो र पानीको आहालमा फसेको ट्रक निकाल्न चालकले दुई दिनसम्म प्रयास गरे पनि सम्भव नभएपछि छाडेको स्थानीयवासी बताउँछन् ।

निर्माण सम्झौताअनुसार यो सडक गत असार ३० गते नै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो । पूर्वाधार विकास कार्यालयले लामा÷च्याङमिला जेभी काठमाडौँलाई निर्माणको ठेक्का लगाइएको छ । यो सडक निर्माणको भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा सीमित छ । 

प्रतिक्रिया दिनुहोस