फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा

रासस

शनिबार, ०५ भदौ २०७८, १९ : ४७
फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा

फाइल फोटो

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो ।

फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए ।

वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्थानमा फोहर थुपारेको भेटिएको उहाँले सुनाए।

उपत्यकावासीले फोहर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको छ ।

वाग्मती सफाइ महाअभियानको ४३२औँ हप्तामा आज थापाथली क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी अभियानकर्मी, नदी संरक्षण संस्थाका पदाधिकारी एवं सदस्य गरी १५० भन्दा बढीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता बिहान दुई घण्टा स्वयंसेवीरूपमा वाग्मती सफाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस