बजारमा सिटामोल अभाव !

पत्रपत्रिकाबाट

शनिबार, ०५ भदौ २०७८, ०८ : १०
बजारमा सिटामोल अभाव !

काठमाडौँ। कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो ।कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ ।

यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भने, “पाँचवटा पसल चहारेपछि बल्ल बल्ल छैटौँ पसलमा सिटामोल एकपत्ता पाइयो ।” उनलेजस्तै सरोज उपकारेटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै आउनुपरेको बताए । बजारमा सिटामोल पाइरहेको छैन भन्ने हल्ला आफूले पनि सुनेको तर त्यो सबै सत्य हुन नसक्ने दाबी औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले गरे ।

उनले भने, “चरम अभाव नै भएको भन्दा पनि पहिलेभन्दा बजारमा सिटामोल कम भएको हुनसक्छ ।” कोभिड क्राइसिसका कारण उद्योगीहरूले कच्चा पदार्थ पाउन नसकेकाले निजी कम्पनीको उत्पादन कम भएको केसी सुनाउछन् । विभागमा पछिल्लो समय सिटामोलको नयाँ मूल्य निर्धारण गर्नुपर्ने विषयमा दबाब र बहस दुवै चलिरहेको छ तर महामारीको समयमा सिटामोलको मूल्य बढाउँदा न्यायसङ्गत नहुने भएकाले त्यो कार्य तत्कालका लागि रोकिएको उनले जानकारी दिए ।

सङ्कट धान्ने प्रयास
सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सिटामोलको पुनः उत्पादन थालेपछि सहज र सस्तो मूल्यमा आम नागरिकले सिटामोल पाउने अपेक्षा गरिएको थियो तर अधिक उत्पादनका लागि विविध समस्या रहँदा नेपालका सम्पूर्ण माग धान्न सक्ने गरी सिटामोल उत्पादन गर्न नसकिएको त्यहाँका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए । यस संस्थामा आएको तीन महिनापछि सिटामोलको पुनःउत्पादन सक्रिय पारिएको उनले दाबी गरे । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस