माधव नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेले बुझायो निर्वाचन आयोगमा पत्र

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १४ : ३५
माधव नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेले बुझायो निर्वाचन आयोगमा पत्र

काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । 

एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ ।

निवेदन दर्ता गरिसकेपछि दाहालले भने, ‘राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न दिन मिल्दैन ।’

एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर गरिएको छ । कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने दाहालले  बताए । 

यसैबीच माधव नेपाल समूहले शुक्रबार पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै आयोगमा गएर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएको छ । एमालेले माधव नेपाललाई हँसिया हथौडा प्रयोग गर्न नदिने भनेपछि एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूहलगायतका सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस