नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी के भन्नुहुन्छ आफ्नै बारेमा ?

मंगलबार, ०४ बैशाख २०७५, १३ : ३६
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी के भन्नुहुन्छ आफ्नै बारेमा ?

मेरो घर चितवनमा छ । बनिबनाउ घर किनेको हुँ । तीन कठ्ठा जग्गासहित ६ कोठे घरको अहिलेको मूल्य चार करोड पर्छ । यो आफ्नै आर्जनले किनेको हुँ । घरको डिजाइन सामान्य छ । सामान्यतः घरको वास्तुशास्त्र मिलेकै छ ।  नेपाल उद्योग परिसंघले नेपालका ७० प्रतिशत औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्छ । संघले उत्पादनमा आत्मनिर्भरता, बेसाइ खाने मुलुकलाई गरिखाने मुलुकमा परिणत गर्ने ध्याउन्नमा छ ।
आफ्नो देश आफैंले बनाउनुपर्छ भनेर अमेरिका र अस्ट्रेलियामा रहेका छोरालाई नेपाल बोलाएँ । छोराहरू नेपाल फर्केर कृषि, भेटेरिनरी र प्लास्टिकसँग सम्बन्धित उद्योग सञ्चालनमा सघाउँदै आएका छन् । त्यही भएर नेपाल उद्योग परिसंघको नेतृत्वमा रहेर काम गर्न सहज भएको हो । पाँच वर्षमा नेपाल धनी नहोला तर हुन्छ भन्ने सन्देश दिन सक्यौं भने नेपालका लागि लाख हुन्छ ।

हिजोआज आर्थिक र उद्योग नीतिबारे अध्ययन गर्दै छु । त्यसैगरी, प्रेरणादायी किताब पढ्न जाँगर चल्छ । अब्दुल कलाम र नेल्सन मन्डेलाको लेखन असाध्यै मन पर्छ । आर्थिक नीतिबारे लेखिरहेको छु । केही समयपछि प्रकाशित हुनेछन् । मेरो संकलनमा पाँच सयभन्दा बढी किताब होलान् । सालिन्दा १५ हजारसम्मको किताब किन्ने गरेको छु ।
म नेपाली खानाको पारखी हुँ । दालभात, तरकारी, दूध र दही भएपछि अरू चाहिँदैन् । सिमी त्यति मन पर्दैन् । सकेसम्म घरकै खाना खान रुचाउँछु । कामविशेषले मात्रै रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा ब्रोइलर कुखुराको मासु रोजाइमा पर्छ । भान्छामा कमै पस्छु । तर, दालभात, तरकारी मीठै पकाउँछु ।

प्रायः सर्ट, पाइन्ट र कोट लगाउँछु । दौरासुरुवाल कमै लगाउँछु । कपडामा सालिन्दा एक लाख रुपैयाँ खर्च हुन्छ । पहेंलो रङको कपडा विशेष मन पर्छ । सकेसम्म कपडा किनेर सिलाउँछु । चितवनको जुली र काठमाडौंको मोनालिसामा कपडा सिलाउने गरेको छु । यही ब्रान्डको कपडा चाहिन्छ भन्ने छैन । टिकाउ र सुहाउँदो भए पुग्छ ।   
दैनिकजसो सात किलोमिटर हिँड्छु । योगा कहिलेकाहीं गरे पनि ‘मर्निङवाक’ ले नियमितता पाएको । ‘डाइटिङ’ छैन् । घुमफिरमा असाध्यै रुचि छ । नेपालका ६२ जिल्ला पुगेको छु । १२ देश घुमेको छु । घुमेकामध्ये दक्षि कोरिया असाध्यै मन प¥यो । जीवनमा एकपटक स्वीजरल्यान्ड र रसिया पुग्ने रहर छ । फुर्सद निकाल्न गाह्रो छ । दौडधुप छ । दौडधुप भएपछि थकाइ लाग्ने नै भयो । तर, थालेको काम सकियो भनेचाहिँ थकाइ लाग्दैन् । धेरै रातको अनिदो भए मोबाइल ‘स्वीचअफ’ गरेर आराम गरौंजस्तो लाग्छ । त्यस्तो लागे पनि आजसम्म मोबाइल ‘स्वीचअफ’ गरेर आराम गरेको छैन ।
फुर्सद पाइहालेमा घरपरिवारसँग बसेर रमाउँछु । घरबाहिर हुँदा गाउँघर डुल्छु । गाउँघर डुल्दा साह्रै आनन्द लाग्छ, जति सहर घुम्दा लाग्दैन् । १० वर्षयता घरपरिवारलाई समय दिन सकेको छैन ।

खेलमा फुटबल मन पर्छ । म एथ्लेटिक खेलाडी हुँ । विद्यालयस्तरसम्म एथ्लेटिक खेलेको थिएँ । चार, आठ र पन्ध्र सय मिटर दौडमा लगातार तीन वर्ष नारायणी अञ्चल प्रथम भएँ । फुटबलमा नेपालको राष्ट्रिय टिम असाध्यै मन पर्छ । विदेशीमा अर्जेन्टिनाका खेलाडी मन पर्छ । खेल नै भएपनि रेस्लिङ हेर्न जाँगर चल्दैन ।सामसुङ ब्राण्डको एउटा मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको १८ हजार रुपैयाँ परेको थियो । काम नलाग्ने भएपछि मात्रै नयाँ मोबाइल किन्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इमेललगायत प्रयोग गर्छु ।  

टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । त्यसपछि ‘बिजनेस’ सम्बन्धी कार्यक्रम हेर्न जाँगर चल्छ । नेपालका वस्तुस्थितिसँग सम्बन्धित टेलिशृंखला हेर्न मन लाग्छ । चेतनामूलक हिन्दी टेलिशृंखलासमेत हेर्ने गरेको छु । घरमा सोनीको ४२ इन्चको टीभी छ । जतिखेर मेरो समय अनुकूल  हुन्छ, त्यतिखेर टिभी हेर्छु ।हलसम्म पुगेर चलचित्र नहेरेको धेरै भयो । पछिल्लो समय चलचित्र ‘थ्री इडियट्स’ हेरेको थिएँ । हेरेकामध्ये ‘जीवनरेखा’, ‘वागबान’ र ‘थ्री इडियट्स’ मन पर्यो । नायक श्रीकृष्ण श्रेष्ठ, हास्यकलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर र नाना पाटेकरको अभिनय जीवन्त लाग्छ ।

स्वास्थ्यकै कारण चिन्तित छैन । रक्तचाप र मधुमेहले समातेको छ । अहिलेसम्म १० पटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप र मधुमेहबाहेक स्वस्थ छु । मलाई रक्तचाप र मधुमेहले समाते पनि चिन्ता लाग्दैन् । किनकि मानिस जन्मेपछि मर्ने निश्चित छ । निश्चित भइसकेपछि कहिले भन्नेमात्रै हो । खानपानमा त्यति मुख बार्दिनँ । मलाई मधुमेह भएपनि खान मन लागेको बेला रसबरी खान हिच्किचाएँ भने त्यो रसबरीले गर्ने असरभन्दा खान नपाएको तनावले बढी असर गर्छ । तसर्थ, आफ्नो स्वास्थ्य आफू अनुकूल बनाउने प्रयत्न गर्छु ।

उद्योगी भएपछि भाषण गरिरहनुपर्छ । आफूले गरेको भाषण आफैंले मूल्याकंन गर्दा सामान्य लाग्छ । अभिव्यक्ति कला नभए पनि उद्योगीको पीरमर्का सहज तरिकाले प्रस्तुत गर्न अप्ठ्यारो छैन । भाषण गर्दा कहिलेकाहीं ‘चाहिँ’ भन्ने थेगो प्रयोग हुँदोरहेछ । मेरो भाषण आक्रामक हुन्छ । भाषण गर्नअघि धेरै तयारी गरें भने झन् बिगार्दोरहेछु ।गीत–संगीत असाध्यै सुन्छु । नारायणगोपाल, भक्तराज आचार्य, बिमाकुमारी दुरा, सर्मिला गुरुङ, बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेको आवाज कर्णप्रिय लाग्छ । मन लागे पनि गुनगुनाउने ढंग छैन । खानैपरे काल्सबर्ग र स्क्वच लिन्छु । खाँदा स्थान, समय र साथी रोज्छु । यस मामिलामा अहिलेसम्म सफल छु । दुईदेखि तीन पेगसम्म लिने गरेको छु ।
जान–अन्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । बोलिदिनुपर्ने समयमा नबोल्दा सम्बन्धित व्यक्तिलाई परेको असर सम्झँदा हिजोआज पनि पश्चाताप लाग्छ । रुद्र शर्मा मेरो गुरु हुनुहुन्थ्यो । कुनै समय मैले गरेको कमजोरी सुनाइदिनुभएपछि मेरी आमाले मलाई सजाय दिनुभएको थियो । त्यसपछि मैले गल्ती गर्नसाथ आमालाई सुनाउँथें । गल्ती नगरी सजाय पाउनसम्म पाएको छु ।  

मेरो राशि कन्या हो । चारपटक ग्रहदशा हेराएको छु । ग्रह नक्षत्रको फलप्रति त्यति विश्वास छैन । कपालमा सामान्य तेल लगाउँछु । घरमै सामान्य फेसियल गर्छु । अनुहारमा क्रिम लगाउँछु । पफ्र्युम प्रयोग गर्छु ।कम्तीमा १० घन्टा काम गर्ने प्रत्येक नेपालीले आधारभूत आवश्यकताका लागि भौंतारिन नपरोस् । उनीहरूले सरल जीवनयापन गर्न सकून् । आधारभूत आवश्यकता पूर्ति गर्न खाडी मुलुकमा पसिना बगाउन नपरोस् । यस्तो दुर्दशा  अन्त्य होस् भन्ने चाहना छ । नेपालको हरियो राहदानी देख्नासाथ सगरमाथाको देश, गौतम बुद्धको देश, हिमाल, पहाड, तराईको देश भनेर संसारभरि सम्मान गरियोस् । मैले चाहेको नेपाल त्यतिमात्रै भए लाख हुने थियो ।

म उद्योग परिसंघ उपाध्यक्ष छु । म जुन भूमिकामा छु, यही भूमिकाबाट अर्थपूर्ण योगदान कसरी गर्न सकिन्छ भन्ने ध्याउन्नमा छु । तर, गाह्रो पनि छ । मैले मेरो उद्यम हेर्ने कि संघको नेतृत्व गरेर अघि बढ्ने भन्नेमा त्यति सजिलो छैन । संघमा रोलक्रम अनुसार अब बन्नु हुने अध्यक्षले मलाई नेतृत्व गर्न आग्रह गरिरहनु भएको छ । स्वाभाविक प्रक्रिया भएकाले मृत्यु सबैभन्दा ठूलो सत्य हो । जीवनमा मृत्यु नजिक–नजिक पुगेको घटना, दुर्घटना नभएका होइनन् । मृत्यु जित्ने होइन, आयु लम्ब्याउने कोसिस गर्नुपर्छ । मेरो मृत्युपछि परिवारले मलामी नकुरून् । मलामी कुर्न आवश्यक छैन । मेरो मृत्यु हुँदा केही गर्न खोजेका थिए, बितेछन् भन्दिए पुग्छ । बिरामी हुँदा उपचार पाइयोस् । रोगले थलिनु नपरोस् । (कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस