धर्मरायो प्रदेश १ को सरकार, माधव पक्षमा पाँच सांसद गए शेरधन राई फालिने

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १७ : ०४
धर्मरायो प्रदेश १ को सरकार, माधव पक्षमा पाँच सांसद गए शेरधन राई फालिने

इटहरी । नेकपा एमालेमा आएको विभाजनले केन्द्रसँगै प्रदेश १ को राजनीतिमा पनि तरंग ल्याएको छ । एमाले फुटले यहाँको सरकार नै धरमराउने सम्भावना छ । यद्यपि, अहिलेसम्म कुन पक्षमा कति सांसद छन् भन्ने स्पष्ट छैन ।

कुल ९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेको ५१ सांसद छन् । तीमध्ये अहिलेसम्म ३ जना सांसद मात्रै माधव नेपालको एमाले समाजवादी पार्टीमा खुलेका छन् । तर, एमाले समाजवादीले भने आफूसँग १५ सांसद रहेको दावी गरिरहेको छ ।

एमाले समाजवादीले दावी गरेअनुसार एमालेबाट १५ सांसद उता गए शेरधन राई नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित छ । एमालेले भने जस्तो तीन सांसद मात्रै एमाले समाजवादीमा गए राईको सरकार जोगिन्छ ।

एमालेका प्रमुख सचेतक वुद्धिकुमार राजभन्डारी भन्छन्– मेरो जानकारीमा भएअनुसार एमालेका तीन सांसद नयाँ पार्टीमा गएका छन् । यसले प्रदेश सरकारलाई केही फरक पर्दैन । एमाले समाजवादीबाट मुख्यमन्त्रीको लाइनमा रहेका राजेन्द्र राई भन्छन्– हामीसँग १५ सांसद छन्, राईको सरकार ढाल्न यो संख्या पर्याप्त हो ।

प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य थिए । माओेवादी केद्रका सांसद टंक आङ्बोहाङ एमाले प्रवेश गरेर अर्थमन्त्री भएर कारवाहीमा परेका छन् । त्यसपछि प्रदेशसभा ९२ सदस्यीय भएको छ ।

प्रदेश १ मा बहुमतका लागि ४७ सांसद चाहिन्छ । यहाँ नेकपा माओवादीका उपसभामुखसहित १५ सांसद छन् । नेपाली कांग्रेसमा २१ सदस्य छन् भने जसपाका ३, राप्रपा र लिम्बुवानमा १र१ सांसद छन् । यो स्थितिमा एमालेका पाँच सांसद एमाले समाजवादीमा गए पनि वर्तमान सरकार ढल्छ ।

प्रतिक्रिया दिनुहोस