मुख्यमन्त्री बनेकै दिन अष्टलक्ष्मी अल्पमतमा

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, ०८ : ३३
मुख्यमन्त्री बनेकै दिन अष्टलक्ष्मी अल्पमतमा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन अल्पमतमा परेकी छिन् । माधव नेपालको साथ छोडेर मुख्यमन्त्री पद स्वीकार गरेकी शाक्यलाई संसदमा बहुमतका लागि ५६ सांसदको साथ आवश्यक पर्छ । तर, शाक्यसँग अहिले त्यो संख्या पुग्दैन । संसदको ठूलो दलको र बहुमत प्राप्त दलको हैसियतमा प्रदेश सभामा एमालेको अहिले एकल सरकार छ ।

तत्कालिन अवस्थामा एमालेको आन्तरिक दल नेता चयनमा डोरमणि पौडेलले शाक्यलाई पराजित गरेर मुख्यमन्त्री बनेका थिए । त्यसबेला एमाले अध्यक्ष केपी ओलीले पार्टीको उपाध्यक्ष समेत रहेकी शाक्यलाई कुनै पनि हालतमा मुख्यमन्त्री बन्न नदिन र आफ्नो गुटमा लागेकालाई नै मुख्यमन्त्री बनाउन अष्टलक्ष्मीलाई ओलीले मुख्यमन्त्री बन्ने बाटो छेकेका थिए ।

तर, अहिले एमाले विभाजित हुँदा ओलीले शाक्यलाई माधव नेपालको साथ छोडे मुख्यमन्त्री दिने वचन दिए । त्यही वचन अनुसार शाक्य अहिले बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी छिन् । उनी एमाले एक्लैको बहुमतको दावीका साथ मुख्यमन्त्री बनेकी हुन् । उनलाई प्रदेश प्रमुख विष्णु प्रसाईले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् । तर उनी मुख्यमन्त्री बनेकै दिन उनी स्यवंको पार्टी एमालेसँग प्रदेश सभामा बहुमत भने गुमिसकेको छ । 

बुहमतका लागि ५६ सांसद आवश्यक पर्छ । जुन अहिले सत्तारूढ एमालेसँग थियो  । अष्टलक्ष्मी सहित अरुण नेपाल, राजेन्द्र पाण्डे लगायतका नेताहरु सहित २२ नेपाल पक्षका सांसद त्यस प्रदेशमा थिए । तर अब त्यो २२ सांसदहरु मध्ये कतिले माधव नेपाललाई साथ दिन्छन भन्नेले पनि एमालेको नेतृत्वको त्यो सरकारको भविश्य निर्धारण हुनेछ ।

अहिले रहेका एक जना सांसद मात्र पनि तलमाथी हुँदा अष्टलष्मी नेतृत्वको प्रदेश सरकार स्वतः अल्पमतमा पर्छ । अहिले राजेन्द्र पाण्डे र मनु सिग्देल माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीमा खुलेरै लागिसकेका छन् । ५६ सांसदमध्ये दुई जना सांसद खुलेरै नेपालको पार्टीमा लागेपछि त्यहाँ एमालेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिनमा अल्पमतमा परेको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । माओवादी र कांग्रेसका ४५ सांसद छन्, यदि एमाले समाजवादीमा ११ जना सांसद लाग्ने हो भने शाक्यको मुख्यमन्त्री पद धरापमा पर्नेछ ।

शाक्यले अबको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गर्न विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस बेला सम्म शाक्यले बहुमत जुटाउन सक्ने नसक्ने अब एमाले समाजवादीमा लाग्ने कति सांसद निस्कन्छन प्रदेश सभामा भन्ने कुराले अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस