अफगानिस्तान घटनामा चीनको प्रतिक्रिया : अफगानी जनताको इच्छा र छनोटको सम्मान गर्दछौं

एजेन्सी

सोमबार, ३२ साउन २०७८, १६ : ३७
अफगानिस्तान घटनामा चीनको प्रतिक्रिया : अफगानी जनताको इच्छा र छनोटको सम्मान गर्दछौं

अफगानिस्तान । अफगानिस्तानमाथि तालिबानले नियन्त्रण लिएपछि चीनले पहिलो पटक औपचारिक प्रतिक्रिया जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियाङ्गले अफगानिस्तानका नागरिकले आफ्नो भाग्य र भविष्यमाथि फैसला गर्न पाउने अधिकारको चीनले सम्मान गर्ने बताइन् । उनले अफगानिस्तानसँग चीनले मित्रवत् सहयोग विकसित गर्न चाहेको पनि प्रस्ट पारिन् ।

उनले भनिन्, ‘चीन अफगानिस्तानमा शान्ति र पुनर्निर्माणका लागि रचनात्मक भूमिका निर्वाह गर्न चाहन्छ ।’ चिनियाँ विदेश मन्त्रालयले तालिबानले आफ्नो पूर्वप्रतिवद्धता पूरा गर्दै त्यहाँ खुला र समावेशी इस्लामिक सरकारलाई वार्ताबाटै स्थापित गर्ने विश्वाससमेत व्यक्त गरेको छ ।

तालिबानले जिम्मेवारीपूर्ण काम गरेर अफगान नागरिक र अफगानिस्तानमा रहेका विदेशी मिशनको सुरक्षा सुनिश्चित गर्नेमा पनि चीनले विश्वास व्यक्त गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता चुनियाङ्गले अफगानिस्तानमा चिनियाँ दूतावास सामान्य रुपमा सञ्चालन भइरहेको जानकारीसमेत दिइन् । उनले अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकलाई पहिला नै फिर्ता ल्याइसकिएको र केही चिनियाँ नागरिक अफगानिस्तानमै रहन उचित ठानेर राखिएको पनि खुलाइन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका चिनियाँ नागरिकहरु सुरक्षित छन् ।