मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक

रासस

आइतबार, ३१ साउन २०७८, १३ : ०६
मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक

महोत्तरी । भदौको तृतीयादेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक देखिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा बर्सेनि मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको शुरुवात भएसँगै सम्पूर्ण मिथिलाञ्चलमा रौनक देखिन शुरु भएको मटिहानीका स्थानीय बासिन्दा शङ्कर मण्डलले बताए । 

आउदो पूर्णिमासम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा  बाजागाजाका साथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ ।महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा,  सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ ।

झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले बताए । भगवान रामसीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । 

सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ । मेला हेर्न र भगवान रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुको भिड लाग्ने गर्दछ । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ ।

मिथिला क्षेत्रमा रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ । प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालु जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।
झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । मटिहानीमा झुला पर्वको आकर्षणका लागि यसपाली त्यहाँ सर्वसाधारण बालबालिकालाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ । 

महोत्तरीको मटिहानीसहित तराई-मधेशका अधिकांश जिल्लामा झुलनोत्सव पर्व मनाइने चलन छ भने भारत बिहारको सीतामढी, मधुबनी, मुजफ्फरपुर, दरभङ्गा र पटनासम्म यस पर्वको रौनक छाएको छ । 

प्रतिक्रिया दिनुहोस