श्वेतपत्रमा पूर्वाग्रह भेटिए कठघरामा उभिन तयार छु : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १४ : ३७
श्वेतपत्रमा पूर्वाग्रह भेटिए कठघरामा उभिन तयार छु : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन्। बिहीबार राष्ट्रियसभामा सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए।

उनले भने, ‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन। यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजि निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ त्यही प्रस्तुत गरेक‍ो छु।

प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको हुँ, कतै डेटामा फरक परेको रहेछ भने कतै पूर्वाग्रही रहेछ भने त्यसको जिम्मा लिन्छु, कुनै आग्रह, पूर्वाग्रह छैन, भएका गरेका काम छन्, त्यसैले यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन, भेट्नुभयो भने म फेरि कठघरामा उभिन तयार छु।’

उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट पेश गरिएको बताए। यसको निर्णय संसदले गर्ने उनले बताए। बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापनजस्ता कुरा संसदले गर्ने उनको भनाइ छ।आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पारे।

उनले भने, ‘बजेट अध्यादेशमार्फत् नल्याउनु पर्थ्यो, ल्याइयो। तर पनि सरकारको निरन्तरताको कारणले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रस्तुत गरिएको छ, यसको निर्णय संसदले गर्नेछ। त्यसलाई संशोधन, परिमार्जन, प्रतिस्थापनका कुराहरु संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्ने छैन।’

उनले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस