कोरोना कहर : पशुपति क्षेत्रमा घटे दर्शालु

पत्रपत्रिकाबाट

मंगलबार, २६ साउन २०७८, ०७ : ४०
कोरोना कहर : पशुपति क्षेत्रमा घटे दर्शालु

काठमाडौं । साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्।

तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो। पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि आज भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताउँछन्।

यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो। साउन ३२ गते अन्तिम सोमबार परेको छ। साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए। राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो। साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम भने साउन महिना र सोमबार छिटो खुसी हुने भगवान् शिवको महिना भएकाले महिला, पुरुष दुवैले व्रत लिने शास्त्रीय विधान रहेको बताउँछन्। साउनमा महिनामा भगवान् शिवलाई जलधारामात्र चढाएमा पनि प्रसन्न हुने शास्त्रीय वचन छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस