तालिवानद्वारा एकैदिनमा अफगानिस्तानको प्रमुख तीन सहर कब्जा

एजेन्सी

सोमबार, २५ साउन २०७८, १६ : ००
तालिवानद्वारा एकैदिनमा अफगानिस्तानको प्रमुख तीन सहर कब्जा

काबुल । अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले एकैदिनमा दुई ठूला सहर कब्जामा लिएको घोषणा गरेका छन् । जसमा कुन्दुज, तालुकान र सरी पुल छन् । अमेरिकी सेनाले अफगानिस्तान छाड्नुको तीन साताअघि भएको यो घटनालाई त्यहाँको सरकारलाई प्रमुख चुनौति मानिएको छ ।

आइतबार तालिवानले तखार प्रान्तको राजधानी तालुकान नियन्त्रणमा लिएको दाबी गरेका हुन । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तीव्र बनाएका छन् ।

राजधानी कब्जामा लिएसँगै तखार प्रान्तका धेरै सार्वजनिक संरचना निष्क्रिय जस्तै भएका छन् । “मुख्य ठाउँ नै नियन्त्रणमा लिएपछि प्रान्त नै निष्क्रिय हुने नै भयो”, स्रोतलाई उल्लेख गर्दै तोलो न्युजले लेखेको छ । उनीहरुले प्रान्तीय प्रहरी कार्यालय समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिबान लडाकूहरुले यसअघि अरु तीन प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिइएको घोषणा गरेका थिए । यो समेत गरी उनीहरूले अफगानिस्तानका चार प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

पछिल्लो तीन दिनमा चार प्रान्तीय राजधानी आफूहरूले कब्जामा लिएको लडाकूहरूले सोमबार दाबी गरेका छन् । लडाकूहरूले यसअघि देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । उनीहरूले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

तालिबान लडाकूहरूले त्योभन्दा अगाडि शबरगान र जारान्ज प्रान्तीय राजधानीहरू नियन्त्रणमा लिइएको दाबी गरेका थिए । सुरुमा गत शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निम्रोेजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ ।

पश्चिमको हेरात, दक्षिणको कान्दाहार र लस्कर गाहसहितका प्रमुख सहर पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस