दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् ।
यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन् । सो घटनाका बारेमा सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत धामीको शव खोजी गर्ने जनाएको छ ।
साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ । समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताए । सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिए । ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ । छानबिन समिति संयोजक गौतमले भने, ‘नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ ।’ समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ ।
गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ । “हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मी लगायतसँग सोधपुछ चलेको छ ।” उनले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ साउन २०७८, ११ : ५८
लेखकबाट थप